Tuesday, April 15, 2014

१६ वर्षीयालाई ३ महिनादेखि बन्धक बनाएर शोषण

१६ वर्षीयालाई ३ महिनादेखि बन्धक बनाएर शोषण

     



    बारा, वैशाख २ - बारामा एक १६ वर्षीया किशोरीलाई एक युवकले ३ महिनादेखि भारतमा लगेर बन्धक बनाई यौन शोषण गरेको पाइएको छ । बाराको मझरिया गाविसका २७ वर्षीय पप्पु यादवले त्यहींकै एक किशोरीलाई बिहे गर्ने प्रलोभनमा घरबाट भगाएर बाराकै विभिन्न स्थान र भारत पुर्‍याएर बन्धक बनाई शोषण गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय बाराले यादवलाई पक्राउ गरेको छ । गत पुस २० गते घरबाट भगाएर लगी ती किशोरीलाई फरक-फरक स्थानमा लगेर शोषण गरेको उजुरी प्रहरीमा परेपछि ती युवक पक्राउ परेका हुन् ।
    यादवको विवाह भइसकेको छ । उनको पहिलो श्रीमतीबाट २ छोरा र एक छोरी छन् । पहिली श्रीमतीको ग्यास लिक भएर आगो लाग्दा शरीरको आधा भाग जलेको छ । त्यसपछि उनले छिमेककै ती किशोरीलाई बिहे गर्ने प्रलोभनमा पारेर घरबाट झुक्याई लगेका थिए । उनले घरबाट भगाएर केही दिन बाराकै विभिन्न स्थानमा राखेको र त्यसपछि बेहोस बनाएर भारत लगेको पाइएको हो । उनले ती किशोरीलाई भारतमा बन्धक बनाई पटकपटक आउने जाने गर्दै शोषण गरेका थिए । किशोरीको परिवार यादवको घरमा मजदुरीको काम गर्छ ।
    उनलाई त्यसक्रममा कुटपिट समेत भएको थियो । उनको शरीरमा निलडाम छ । गत चैत २० गते ति किशोरी बन्धक बनाइएको घरका घरधनीको मद्दतले भागेर नेपाल आएकी छन् । 'मलाई शोषण गरेपछि बिहे नगरी त्यहीं बेच्न लागेको रहेछ,' ती किशोरीले भनिन्, 'घरधनीले किन्ने मान्छेसँग भाउ नमिलेर उनलाई त्यहीं राखेको बताएपछि भागेर आएँ ।'
    किशोरीले घरमा आएर आफू माथि भएको यातना सुनाएपछि पञ्चले स्थानीय स्तरमा मिलाउने प्रयास गरेका थिए । पञ्च भेलामा स्थानीय राजनैतिक दलका प्रतिनिधि रहने गर्छन् । पञ्चभेलाले बलत्कार, श्रीमान् श्रीमतीको झगडाजस्ता विषयवस्तुलाई गाउँघरमा नै सल्टाउने प्रवृत्तिका कारण महिला हिंसा बढेको स्थानीय अधिकारकर्मीको भनाइ छ । ती युवतीको सानैमा एकपल्ट बिहे भइसकेको छ । सानैमा बिहे भएपछि माइतमा बसेर ठूलो भएपछि मात्र घर जाने परम्परा अनुसार उनी माइतमा थिइन् । अर्कै केटाले लगेर ३ महिनापछि घर फर्किएको भन्दै श्रीमान्ले उनलाई अस्विकार गरिसकेका छन् । पीडित युवती भागेर घर फर्किएपछि स्थानीय पञ्चको भेलाले ती किशोरीलाई यादवको घरमा बुहारी बनाएर भित्र्याउन आदेश दिएको थियो । तर पीडक परिवार खानदानी भएकाले काम गर्ने परिवारको छोरीबुहारी बनाएर भित्र्याउन केटाको परिवारले नमानेपछि यौन शोषणको मुद्दा प्रहरीसम्म आइपुगेको हो ।
    पीडक परिवारले बुहारी बनाउँदा समाजमा इज्ज्जत जाने भन्दै बरु धर्मपुत्री बनाउने प्रस्ताव अघि सारेको थियो । पञ्चले पनि धर्मपुत्री बनाउँदा राम्रो हुने सल्लाह दियो । 'केही समय अघिसम्म त्यही व्यक्तिले यौन शोषण गर्‍यो, त्यसको केही दिनमा उसलाई दाइ बनाउने प्रस्ताव पञ्च भेलाले स्विकार्‍यो,' बाराकी एक अधिकारकर्मी भन्छिन्, 'दुनियाँमा नहुने कुरोमा पञ्चले सहमति जनाएका छन् ।' तर धर्मपुत्री बनाउँदा नागरिकता र अंशजस्ता कुराहरू दिनुपर्ने भएकाले पीडक परिवार फेरि पछि हटेको थियो ।
    पीडित किशोरी अझै पनि पीडक यादवसँग विवाह गर्न चाहन्छिन् । पहिलो विवाह टुटिसकेको छ र आफ्नो बदनामी भइसकेको भन्दै त्यही केटासँग विवाह गर्न खोजेको उनले बताइन् । जिल्लास्थित महिला बालबालिका सेवा केन्द्रको संरक्षणमा रहेकी उनले भनिन्, 'मेरो इज्ज्जत गइसक्यो, अब कसैले नि बिहे गर्दैन, त्यही भएर यही केटासँग विवाह गर्छु ।'
    बिहेपछि झन् यातना पाइने थाहा हुँदाहुँदै पनि उनी त्यही युवकसँग बिहे गर्न चाहन्छिन् । 'बिहेअघि माया गर्छु भनेर यातना दिंदै झन्डै बेचेको थियो,' उनले भनिन्, 'ऊ र उसको परिवारले नचाहँदा नै बिहे गरेपछि मलाई झन् यातना दिन्छन्, तर पनि म यही केटासँग बिहे गर्न चाहन्छु ।'
     

    प्रकाशित मिति: २०७१ वैशाख २ १२:००
    - See more at: http://www.ekantipur.com/np/2071/1/2/full-story/387526.html#sthash.KoHAeMXZ.dpuf

    No comments:

    Post a Comment