सुशील कोइरालाका झुसिलकीरा
मिति : २०७१ बैशाख ८, सोमबार [551 पटक पढिएको]
उपेन्द्र प्रेमी |
सिंहदरबारभित्रको प्रधानमन्त्री कक्ष बाहिरको भित्तामा सुशील कोइरालाको तस्बिर टाँगिएको दुई महिना अवधि पूरै व्यतित भएर अरू दिन थपिँदैछन्। सत्तारोहणको मधुमास आउन र हनिमुन डे गुज्रन अब लगभग एक महिना केही दिन बाँकी छ। त्यसो त वार्धक्य ब्रह्मचर्य र शालीन शान्त सुशील कोइरालाका लागि के हनिमुन के मधुमास? तर पनि सरकारी विधि बन्दोबस्तका चाटुकार सुशील अनुगामीहरू कमसेकम सय दिन त हेर भन्ने परम्परागत शैली र पद्धतिमा मधुमासकै मोहजालमा जेलिएका छन्।
त्यसपछि आउने कटुमास यो मिसमासमा के कसरी आउने कटुमास हो त्यसको ठोस ठहर छैन। तर पनि मन्त्री पदमा दुई नेता पुत्र पत्नीलाई सामेल गरेपछि मधुमासीहरूले मदमस्तीसँग जिब्रो चट्कार्दै भन्ने गरेका छन्- अब सरकारको पक्षमा दुईतिहाइको भारी संख्या भयो।
५० अघिको दशकमा भएको एउटा चुनाउमा संसद्मा नेपाली कांग्रेस एउटैले बहुमत ल्याउँदा गिरिजापन्थीहरूको उचाइ निकै चुलिएको थियो। तर तीन वर्ष नपुग्दै छत्तिसेहरू उठे, तत्पश्चात् दुईतिहाइ त के बहुमत भन्ने कुरा नेपाली राज्य प्रणालीमा बिरला कोटीझैं भयो। तथापि सुशीललाई भाग्यमानी भन्नुपर्छ उहाँ दुईतिहाइ सभासद्को विश्वासप्राप्त सरकारप्रमुख हुनुहुन्छ।
प्रजातान्त्रिक मूल्यमान्यताका परम्परागत शक्ति समेटेर दुईतिहाइको हैसियत कायम राख्न सक्नु उहाँको बलियो पुर्पुरोकै परिणाम मान्नुपर्छ। निश्चय पनि बाहिरका कट्मिरा र भित्रका निकै आँटबाँटका सुशील आफ्नै शालीन, शान्त र शिष्ट आकारप्रकारले जिम्मेवारीको गहन राष्ट्रिय बागडोरमा भागीदार हुन आइपुग्नु भएको छ।
मान्छेहरू भन्थे- सुशीलमा कुनै पदासक्ति छैन। हो, उहाँ एकैपटक पदको शिखर चढ्नुभयो बीपी, मातृका र गिरिजाको बिँडो थाम्दै। यही कुरालाई लिएर कति विरोधी र कति स्वदलकै नेताहरू पनि श्रद्धापूर्वक खिसी गर्छन्- शासकीय अनुभवको कमीका कारण सुशील दादा शिथिल हुनुहुन्छ। तर कुरा दुवै हो, दुवै होइन। सुशील जब दुईदुई निर्वाचन क्षेत्रबाट विजयी हुनुभयो उहाँमा मनोबल बढ्यो। सुशील जब उहाँमा वीरबहादुर शेर र चतुर चलाख रामहरूको आत्मचेत भयो तब उहाँमा आफ्नो अग्रसरले ज्ञान, बुद्धि भयो।
सुशील जब उहाँमा लामो कार्यबाहकीय र पछिको पूर्ण निर्वाचित सभापति पदको गरिमाको पारो चढ्यो तब उहाँमा अब 'पालो मेरो: बिँडो थाम्ने काममा काम्ने किन? भन्ने अन्तर्ज्ञान भयो अनि परम्परागत कोइराला वंशको बोध गर्दै र अरू वीर चतुरहरूको नाडी छाम्दै उहाँ दाह्री मुसार्दै अघि सार्नुभयो। जहाँसम्म अनुभवहीनता भनेर उहाँकै सहभागी मन्त्रीहरू पनि भन्छन्- त्यो उनीहरूको उच्चताभास मात्र हो र सुशीललाई हेपेर आफ्नो चुरीफुरी प्रदर्शन गर्ने एक विचित्रको काइदा मात्र हो।
चुरो कुरो सुशील बाहिर जति नरम हुनुहुन्छ भित्र त्योभन्दा बढी गरम हुनुहुन्छ। सुशील दादाबाट केको दाबा? भन्नेहरू सबैलाई हावा खुवाउँदै उहाँ तात्तातो भए पनि तावामा बस्नुभएको छ जसजसले जे जे अफवाह गरे पनि। मान्छेहरू जेजे भनून्, सुशीलसँग भित्री अहम् दम्भ छ- म के कम? हो, मान्छेको अहम् दम्भसँग र आत्मब्रह्मसँग कसैको केही जोर चल्दैन। एक से एक शेर र सवा शेरहरू अन्तत: पाखा परे- सुशील नेपालको प्रथम शालीन सुशील प्रधानमन्त्री भएरै छोड्नुभयो।
तर सुशील भित्रिया रूपमा अति आँटी भए पनि बाहिरफेर उहाँ झुसिलकीराहरूको टकटक टोकाइमा हुनुहुन्छ। उहाँमा आँट छ तर भाँत छैन। भलीभाँती बखान गर्ने र अनुभवीको दाबी गर्ने मन्त्रीहरू र कांग्रेसी नेताहरू यति धेरै छन्, जसको सरसल्लाह नमानी उहाँलाई धरै छैन। एक से एक प्रचण्ड र अनेकन् अरू नेतागणले जेजे सुझाउँछन् त्यो मान्नैपर्ने बाध्यता उहाँलाई छ। जसोजसो भनियो त्यसोत्यसो नगरी सुखै छैन उहाँलाई। झुसिलकीराहरू उहाँका वरपर कति छन् भने त्यसको कुनै गन्ती छैन।
सीधा किचेन रुममा गएर राय-परामर्श गर्नेहरूको टोकसो उहाँले खप्नैपर्छ। नखपी हुँदै हुँदैन। सरसम्पत्तिको जरजोहो गर्नुपर्ने उहाँलाई कुनै खाँचो छैन। तर अरूको जोहो गर्नुपर्ने उहाँलाई कुनै खाँचो छैन। तर अरूको जोहो गर्नुपर्ने, गराइदिनुपर्ने र जे-जे भन्छन् मानिदिनुपर्ने उहाँको बाध्यता छ। त्यस्तो बाध्यकारी अवस्थामा हुनुहुन्छ उहाँ। कसैको पदप्रतिष्ठा, कसैको कमाइधमाइ र कसैको घुक्र्याइँ खप्नैपर्ने बाध्यता सुशील दामा छ, त्यो भोग्नैपर्ने उहाँको नियति नै हो।
सुशील कोइरालाको नेतृत्वमा बनेको विद्यमान सरकारमा उहाँका सहयोगीहरू उहाँसरह उति शालीन छैनन्। मौकामा चौका हान्नुपर्छ र विधि-व्यवहार एवं बन्दोबस्त गर्नुपर्छ भन्ने ती कतिपयको ध्येय र धारणा छ। तर पनि सुशीलका ती कतिपय झुसिलकीराहरू उहाँका वरपर जति नै रिङे पनि उहाँको आफ्नो सुरताल भने आफ्नै खालको छ। दुब्लो, पातलो र फितलो जस्तो देखिए पनि उहाँको कद र काइदा निकै अग्लो देखिन्छ। लबस्तरी तालले उहाँ-झुकिहाल्ने, गरिहाल्ने र मरिहत्ते गर्ने उहाँको बानीबेहोरा देखिँदैन।
यद्यपि सुशील कोइरालाका विरासती पात्रहरू धेरै छन्। यसपछि पालो मेरो भन्नेहरू निकै छन्। तर उहाँको शालीनता र सुशीलताका अघिल्तिर सहजै तिनको पालो आइहाल्छ भन्ने कुनै ठेगान छैन। यद्यपि एकवर्षे म्याद तोकिएको हो तर त्यो म्यादी अवधि त्यसमै गुज्रन्छ भन्ने कुनै भरभरोसा देखिँदैन। झुसिलकीराहरूले जति टोक्न खोजे पनि वा झम्टिन लागे पनि अनायासै त्यसले कुनै चोटपटक पुर्याउने लक्षण देखिँदैन।
हो, संविधान आउला-नआउला। त्यो बेग्लै कुरा हो, तर संविधान जारी नभएसम्म सुशील कोइरालाको दारीमा कुनै प्रकारको खबरदारी हुने छाँट देखिन्न। संविधान अघि सारिएपछि अरू प्रकारका झुसिलकीराहरू फन्फनाउन सक्छन्, त्यो अर्को कुरा हो र त्यसको सामना तथा समाधान निकाल्न सुशील कोइरालाका निम्ति मुस्किलकै कुरा हुन सक्छ तर हतपत पदमुक्तिको अर्को जुक्ति निकै कठिन ठानिन्छ।
No comments:
Post a Comment