Tuesday, April 22, 2014

राष्ट्रघातीको पहिचान

राष्ट्रघातीको पहिचान
भारतको राजधानी नयाँदिल्लीमा २०६२ साल मंसिर ७ गते नेपालका आठ दल मिलेर गरेको प्रायोजित समझदारी अल्पकालीन र दीर्घकालीन योजनाको एउटा विम्ब मात्र थियो। २०६५ साल जेठ १५ गते नेपाललाई संघीय गणतन्त्र घोषणा गर्ने अग्रणी शक्तिहरू आज चक्रव्युहको अभिमन्यु झैं विदेशी शक्तिको घेरामा परेको विश्लेषण गर्न थालेका छन्।
ब्युँझेपछि मात्र उज्यालो भएछ भन्ने चाल पाए झैं युरोप, भारत र अमेरिकाले नेपालका राजनीतिक दलहरूलाई उकासेर आफ्नो अस्तित्वमा समेत सुनियोजित रूपमा प्रहार गरेको थाहा पाएपछि चीनले समेत नेपालको कथित राजनीतिक परिवर्तनलाई अत्यन्त व्युहरचनाका रूपमा बुझ्न थालेको अनुमान गर्न थालिएको छ। चीनको कूटनीतिक छटपटीले यही सन्देश दिएको छ।
धीरशमशेरका छोराहरूले जंगका छोराहरूको हत्या गरेपछि वीरशमशेरले राष्ट्रका सबै अंगका सर्वोच्च पद हातमा लिएझैं २०६३ साल वैशाख ११ गते संसद् पुनस्र्थापना गराएर २०४७ सालको संविधानमाथि अन्तिमपटक बलात्कार गरिएको थियो। सो संविधानको रक्षा गर्ने शपथग्रहण गरेर प्रधानमन्त्री बन्नुभएका गिरिजाप्रसाद कोइरालाले आफ्नै हातले प्रजातान्त्रिक संविधानलाई दागबत्ती दिनुभएको थियो।
त्यसप्रति पश्चात्ताप गर्दै उहाँले आफ्नो जीवनीमा २०४७ सालको संविधान फ्याँक्नु ठूलो राजनीतिक भूल भएको स्वीकार गर्नुभएको छ। विश्वको सर्वोत्कृष्ट प्रजातन्त्र मानिने ब्रिटेनको राजनीतिक प्रणाली अनुसरण गरेर पूर्ण प्रजातान्त्रिक व्यवस्थाको अवधारणाअनुसार निर्मित २०४७ सालको संविधानलाई विदेशी शक्तिले प्रहार गर्नुको पछाडि मुख्यत: तीनवटा कारण थिए-
(१) सो संविधानले धर्म परिवर्तनलाई गैरकानुनी मानेको थियो।
(२) प्राकृतिक स्रोतसाधनबारे संसद्को दुईतिहाइ बहुमतले मात्र निर्णय गर्नसक्ने व्यवस्था थियो।
(३) नेपालीबाहेक अरू कसैले पनि नेपाली नागरिकता प्राप्त गर्न सक्दैन भन्ने कुरा संविधानमा स्पष्ट लेखिएको थियो। प्रजातन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकारलगायत प्रजातान्त्रिक संस्कृतिका सबै पक्ष त्यसमा समेटिएका थिए। त्यसैले दलहरू सन्तुष्ट थिए।
गाउँमा एउटी युवतीले घरका भाँडाकुँडा र लत्ताकपडा सबै बेच्न थालेपछि छिमेकीले किन त्यसो गरेको भनेर सोधेछन्। उनले जवाफ दिइछन्- घरमा बूढीआमा र मबाहेक कोही छैनौं। आमा मरिहाल्छिन्, म पोइल गइहाल्छु। किन चाहियो सबै चीज?'
२०४७ सालको संविधानका निर्माता नेपाली कांग्रेस र एमालेका नेतागणले पनि त्यस्तै सम्झे। गणतन्त्र आएपछि आफूले चिताएको सबै पुग्छ भन्ने उनीहरूको अड्कलबाजी गलत साबित भएको छ। विदेशीको निर्देशनबिना राज्यसंयन्त्र चल्दैन कि भन्ने भ्रम फैलाइएको छ। विदेशी दाताराम चाहन्छन्, दलहरूले चाहेजस्तो होइन, आफूले इच्छा गरेजस्तो नेपालको संविधान बनोस्।
जुवाको खालमा आआफ्ना प्रतिनिधि राखेर उनीहरू मार्रा भन्दै छाती ठोक्न बसेका छन्। युरोप, अमेरिका, चीन र भारतजस्ता शक्तिलाई हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नगर भन्ने साहस कुनै दलमा पनि छैन। वैतरणी तर्नका लागि सबैले विदेशीकै पुच्छर समातेका छन्। कसैले लामो पुच्छर समातेका छन्, कसैले छोटो। विदेशी रिझाउने र नेपाली कज्याउने प्रवृत्ति दिनानुदिन बलशाली हुँदैछ।
शान्ति प्रक्रिया बिथोल्न विदेशीले नेपालमा करोडौं रुपैयाँ लगानी गरेको आरोप लगाउँदै एमाओवादीले केही व्यक्तिको नाम किटेरै संसद्मा प्रश्न उठायो। सर्पको खुट्टा सर्पले देख्छ भन्ने उखान झैं कुन कुन दल र व्यक्तिहरू बाह्यशक्तिबाट सञ्चालित छन् भन्ने उजागर हुँदै गएमा नेपाली जनताले विश्वास गरेका व्यक्तिमध्ये कतिजना जनप्रतिनिधि र कतिजना धनप्रतिनिधि रहेछन् भन्ने खुलासा हुनेछ। रोडपतिबाट करोडपति भएका धेरैको जन्मकुण्डली जनताले थाहा पाउनेछन्।
डलरखेती, भारुखेती, युरोखेतीलगायतका विकासेखेती गरेर नवकुबेर बन्नेहरू सबै निर्वस्त्र भएपछि मात्र देशभक्तहरूको त्यागतपस्याको मूल्य बढ्न थाल्छ। नत्र ती सधैं मूर्खलाल ठहरिन्छन्। राष्ट्रिय हित, राष्ट्रियता, राष्ट्रिय एकता र अखण्डतालाई चुनौती दिँदै विदेशी शक्तिका करिया तथा भरिया बनेका सहरिया वर्ग र जनवादको सपना देखाएर पुँजीवादी, अभिजात्य एवं साम्राज्यवादीका दास बनेका एजेन्टहरू ६-७ वर्षमै नांगेझार हुनु खुसीको कुरा मात्र होइन, राष्ट्रिय स्वार्थका दृष्टिले सन्तोषजनक विषय हो।
जालन्धरकी पत्नी वृन्दासँग छलकपट गरेर सहवास गरेपछि भगवान् विष्णुलाई वृन्दाले श्राप दिइन्- तिमीले पृथ्वीतलमा घाँस, झार, वृक्ष र पत्थर बनेर रहनु परोस्। पौराणिक ग्रन्थहरूमा भनिएको छ- त्यसरी श्राप पाएपछि विष्णुले शालिग्रामरूपी पत्थर, कुश, पीपल र तुलसीका रूपमा रहनुपर्‍यो। कसको श्राप लागेर हो, २०६३ सालपछि नेतागणले मनोवाञ्छित पद र पर्याप्त पैसा पाए तर कुनै इज्जत पाएनन्। विदेशीबाट पनि गुप्तधनरूपी तलब खान्छन् भन्ने कुरा जनताले थाहा पाए भने त्यस्ता नेता, पत्रकार, अधिकारकर्मी आदिको के इज्जत रहला?
राष्ट्रवादीहरूलाई दरबारपरस्त भन्दै विदेशी दरबारको जुठो खाने प्रतिस्पर्धामा धेरै नेपाली अनुहार दौडिरहेका छन्। गाउँघरतिर पतिले खाना खाएपछि उनकै जुठो थालमा पत्नीले खाने चलन अद्यपि छ। यसो गर्दा माया बढ्छ भन्ने अन्धविश्वास छ। एकभन्दा बढी पत्नी छन् भने त जुठो थालमा खाएर पतिको प्रिय बन्ने होडबाजी चल्छ।
नेपालका नेतागणमा पनि विदेशीको प्रिय बन्न उनीहरूसँग धेरै लसपस गर्ने प्रवृत्ति बढेको छ। यसले गर्दा नेपालको राष्ट्रिय अस्मिता र सुरक्षामा समेत संकट देखिएको छ। यो गम्भीर र दुर्भाग्य हो।
नेपाली सेनालाई दुस्मन घोषणा गर्नेहरूलाई शान्ति प्रक्रिया सुरु भएपछि रक्षामन्त्री बनाइयो। साम्राज्यवाद र विस्तारवादको विरोध गरेर नथाक्नेहरू विदेशीको गुप्तमन्त्रणा, अनुकम्पापूर्ण निगाह तथा वरद् निर्देेशनमा प्रफुल्ल बन्ने परम्परा बस्यो। कसैले पनि इतिहासको हेक्का राखेनन्।
वर्तमानको वस्तुपरक विश्लेषण गरेरनन् र भविष्यमा हाम्रो हविगत के हुन्छ भनेर मीमांसा गर्ने धैर्य राखेनन्। अनुभवहीन, उद्दण्ड तथा उच्छृंखल विद्यार्थी नेताले झैं उत्तेजना, आवेग र अहारिसको सिकार भएर प्रतिशोधी निर्णय गर्ने नेताहरूले नै आज राष्ट्र र जनतालाई अनिर्णयको बन्दी बनाएका छन्।
अब प्रश्न उठ्छ- संघीय गणतन्त्र नेपाल घोषणा गरिएपछि जनताले के पाए? स्थायी संविधान, अन्तर्राष्ट्रिय इज्जत, दिगो राष्ट्रवादी नेतृत्व, अभूतपूर्व समृद्धि, विश्वमा प्रसिद्धि, परम्परागत धर्म-संस्कृति र मौलिकताको सुरक्षा, राष्ट्रिय एकताको सुदृढीकरण, राष्ट्रिय सुरक्षाको प्रत्याभूति, हजारौं युवालाई रोजगार, स्वाभिमानको श्रीवृद्धि वा अटल शान्ति? के पाए त जनताले? के पायो राष्ट्रले? यस्ता यक्षप्रश्नको उत्तर कसले दिने? जब दलका अगुवा र उनीहरूका पाश्र्ववर्तीहरू आफैं अलमल्ल परेका छन् भने उनीहरू सारथि बन्लान् भनेर तपाइँ कसरी पत्याउनुहुन्छ?
सत्य निरूपण तथा मेलमिलाप आयोग, शान्ति प्रक्रियाका सर्त र अनेकौं वितण्डाको कालो धुवाँ फैलाएर दुम्सी मार्न खोज्नेहरूले प्रयोग भइसकेका पात्रहरूलाई फिल्मी शैलीमा तिम्रो काम खत्तम भन्दै कठोर निर्णय गर्न सक्छन्। विदेशीको दानापानी खाँदै आएकाहरूबीचमै फाटो गराएर उनीहरूको वास्तविक चित्र र चरित्र देखाइदिन सक्छन्।
झिँजाका डाँकाको मामा पनि डाँका, ससुरा पनि डाँका भनेझैं बाहिरी शक्तिले दशकौंदेखि खेलाइरहेका नेता, कार्यकर्ता, सञ्चारकर्मी, अधिकावारवादी र बुद्धिजीवीमध्ये जो बढी बिकेका वा चुकेका छन्, उनीहरू मात्रै आज झन् भयभीत छन्।
जुन दिन जनतामा राष्ट्रियताको प्रबल चेतना जागृत हुन्छ, त्यही दिनदेखि नेपाली जनताले विदेशी मालिकका कमैयालाई पाता फर्काउँछन् र गोर्खेलौरी लगाउँछन्। फर्डिनान्ड मार्कोस झैं भागेर साम्राज्यवादीकै शरणमा जाने सौभाग्य सबैले पाउँदैनन्। नाकानाकामा जनताले घेरिसकेका हुनेछन्। नयाँ शक्ति बनाऊन् वा दूधले नै नुहाऊन्, राष्ट्रघातीलाई जनताले चिनेका छन्।
कुनै बेला ह्वाइट हाउस र क्रेमलिनका धर्मपुत्र बनेका युरोप, दक्षिण अमेरिका, अफ्रिका र एसियाका कैयन् नेता त्यतिबेला अनाथ भए, जब मालिकले उनीहरूलाई प्रयोग गरेर फ्याँकिदिए। प्रबल राष्ट्रवादी नेताले कहिल्यै जुठो खाने प्रतियोगितामा भाग लिँदैन। त्यसैले ऊ लज्जित हुनुपर्दैन। अभावले मनोबल गिर्दैन तर अपमानले गिर्छ। भारतलाई सिक्किम बुझाएपछि प्रधानमन्त्री इन्दिरा गान्धी र गृहमन्त्री एसबी चौहानले लेन्डुप दोर्जेलाई चिन्नै छोडे।
विदेशी शक्तिलाई नेपाल बुझाउन खोज्नेहरूको भोलि त्यही हालत हुनेछ। त्यसैले विदेशीको आडभरोसामा सुन्दर भविष्यको कल्पना गर्ने पोष्यपुत्रहरू आज पनि निद्रामै छन्। आशा गरौं, अब ती ब्युँझिनेछन्।

No comments:

Post a Comment