Friday, April 25, 2014

ansa ko kuro


काठमाडौं, वैशाख १३ - हाम्रो समाजमा छोरालाई बुढेसकालको लाठी भनिने चलन छ । जन्म दिई, हुर्काइएका छोराहरु एक ८६ बषिर्य बृद्धाको बुढेसकालको लाठ्ठी होइन, उल्टो दुखका कारण बनेका छन् । बृद्धासँग भएको ८७ हजार रुपैयाँ आफुले खानलाई अनेक हत्कण्डा अपनाएका छन् । त्यसो गर्ने मध्ये एक छोरालाई प्रहरीले पक्राउ समेत गरेको छ । काठमाडौं मुलपानीकी नन्दमाया खतिवडा श्रीमानले छाडेर गएको ७५ हजार रुपैयाँ छोराहरु बिच कसले लैजाने भन्ने बिषयमा विवाद भएपछि प्रहरी चौकीसम्म आउन बाध्य भएकी छन् ।
महानगरीय प्रहरी बृत नयाँ बानेश्वरले जनाए अनुसार नन्द माया खतिवडाका श्रीमानले ५ बर्षअघि गोठाटारका मित्र प्रसाद भण्डारीलाई ७५ हजार रुपैंया ऋण दिएका थिए । त्यसको पछिल्लो एक बर्षको ब्याज जोदा ८७ हजार रुपैयाँ भएको हो । त्यहि बेला खतिवडा बितेपछि उक्त रकम नन्दमायाले पाउने भइन् । भण्डारीले बर्षेनी ब्याज तिर्दै आएका थिए । तर यो पाला पुरै रकम नन्दमायाका छोरा मध्ये माईला बलराम खतिवडाले लिन खोजे । तर भण्डारीले अन्य छोराको सहमति र उपस्थिती बिना दिन नसक्ने बताएपछि उनले आमालाई भण्डारीको घर अघि लगेर छाडिदिए ।
'बुढि मान्छेलाई घर अघि छाडेपछि भण्डारीले प्रहरीलाई खबर गरे' बृतका डिएसपी रेवती ढकालले भने 'बुढि आमालाई बाहिर सडकमा धर्ना दिन छाडेर गएका रहेछन् ।' बृद्धालाई धर्ना दिन छाडेको खबर पाएपछि महानगरीय प्रहरी प्रभाग पेप्सीकोलाको प्रहरी टोलीले गोठाटारबाट प्रहरी भ्यानमा राखेर बानेश्वर बृतमा ल्याएको थियो ।
उनका अनुसार रकम भण्डारीलाई दिएको कागज नन्दमायाका साहिला छोरा ईश्वर खतिवडासँग छ । माईलाले उक्त कागज ल्याउन नसकेपछि भण्डारीको घर बाहिर धर्ना दिन छाडेका थिए । उनले आमाको रकम राख्नलाई बैङकमा खाता समेत खोलिदिएका छन् । बानेश्वरमा ल्याएर बृद्धालाई साँझ घर पठाइदियो । नन्दमाया ४ वटै छोराको घरमा ३/३ महिना बस्दै आएकी छन् ।  बानेश्वर प्रहरीको हिरासतमा रहेका माईला छोरा बलरामले रकम उठाउन नैतिक दबाब दिनका लागि आमालाई धर्ना दिन घर बाहिर राखिएको दाबी गरे । उनले आमाको पैसा खाने कुनै उद्येश्य नभएको बताएका छन् ।
- See more at: http://www.ekantipur.com/np/2071/1/13/full-story/388163.html#sthash.jVb0FjOj.9X7JESF0.dpuf

No comments:

Post a Comment