मुम्बई (एजेन्सीहरू), वैशाख १३ - मिर्गौलामा आएको खराबीले कुख्यात भगौडा ग्याङस्टर ५९ वर्षे छोटा राजन (राजेन्द्र सदाशिव निखाल्जे) अस्वस्थ भएका छन् । उनका धेरैवटा अंगहरूले काम गर्न छाडेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनको कुनै पनि बेला मृत्यु हुन सक्ने सम्भावनाका खबरहरू सार्वजनिक भएका छन् । भारतविरोधी गतिविधिमा संलग्न दाउद इब्राहिमका उनी कडा प्रतिद्वन्द्वी मानिन्छन् । उनी कुनै बेला दाउदका निकट सहयोगी मानिन्थे । उनको समूहलाई भारतको मुख्य अपराध सिन्डिकेटमध्येको एक मानिन्छ ।
ब्ल्याकमा सिनेमाको टिकट बेच्दै भूमिगत माफियाका नाइके बनेका राजनलाई केही दिनदेखि सिंगापुरको एक निजी अस्पतालमा भर्ना गरिएको छ । समूहका धेरैजसो मारिसकेका हुनाले सहयोगी एवं म्यानेजर अबु साबन्तले राजनको उपचारको जिम्मेवारी सम्हालेका छन् । राजनकै आदेश र प्रतिद्वन्द्वीको आक्रमणमा धेरैजनाको ज्यान गएको हो । उनी सन् १९९० देखि दक्षिण-पूर्वी एसियामा बस्दै आएका छन् ।
स्वास्थ्यलाई लिएर सार्वजनिक भएको विभिन्न खबरबीच भारतका प्रतिष्ठित टीभी च्यानलहरूले गुप्तचर स्रोतलाई उद्धृत गर्दै उनको दुइवटै मिर्गौलाले काम गर्न छाडेको जनाएको छ । उनका विरोधीहरूले मलेसियाबाट सिंगापुर ल्याइएका राजनको अंगहरूले काम गर्न छाडेपछि मृत्यु भइसकेको समेत भनेका छन् । दुई महिनाअघि उनको आमा लक्ष्मीबाई निखाल्जेको पनि मृत्यु भइसकेको छ ।
राजनको सम्भावित अड्डामा अहिले शान्ति छाएको प्रहरी स्रोतले जनाएको छ । सन् १९९३ मा मुम्बईमा शृंखलाबद्ध विस्फोट गराउने दाउदलाई नमारेसम्म आफू नमर्ने राजनले बताउँदै आएका छन् । सन् १९९१ मा भारतमा बाबरी मस्जिद तोडफोड र सन् १९९२ मा भएको दंगापछि दाउदले बदला लिन विस्फोट गराएका थिए । राजनलाई हिन्दु समर्थक मानिन्छ । उनकै जीवनमा बलिउड फिल्म 'वास्तव' र 'कम्पनी' बनेको थियो । सन् २०११ को जुन ११ मा भारतको लोकपि्रय 'मिड डे' ट्याबुलोइड पत्रिकाका क्राइम रिपोर्टर ज्योतिर्मय दे (जेडी) हत्या पनि उनैले गराएका थिए ।
सन् २००० को सेप्टेम्बरमा बैंककमा दाउद समूहको गोली लागेपछि भएको संक्रमणकै कारण राजनको मिर्गौलामा समस्या आएको थियो । उनले त्यतिबेला हाम फालेर ज्यान बचाएका थिए । त्यतिबेला थाई सरकारले आफूलाई भारतलाई बुझाउने त्रासले उनी ठीकसँग उपचार नगराई अस्पतालबाट भागेका थिए । उनी लामो समयदेखि डायलोसिसमा थिए ।
सन् २००६ मा मुम्बई अपराध शाखाले फिरौती असुली र मुद्रा अपचलनमा ऊजुरी दर्ता गरेपछि पेसाले निर्माण ठेकेदार उनको सहयोगी साबन्त भारत छाडेका थिए । यो काण्डमा राजनपत्नी सुजातासहित ६ जना पक्राउ परेका थिए । यो मुद्दा अझै पनि 'महाराष्ट्र कन्ट्रोल अफ अर्ननाईज्ड क्राइम एक्ट (एम सीओसीए)' कोर्टमा विचाराधीन छ । यसमा साबन्तलाई वान्टेड दोषी ठहर गरिएको छ । युरोपमा उच्च शिक्षा प्राप्त गरिरहेकी जेठी छोरी अनितालाई भेट्न राजनपत्नी सुजाताले हालै मुम्बई उच्च न्यायालयबाट अनुमति पाएकी थिइन् ।
प्रकाशित मिति: २०७१ वैशाख १३ १०:१२
- See more at: http://www.ekantipur.com/np/2071/1/13/full-story/388202.html#sthash.5MoJGyBb.PqnAcq4q.dpuf
No comments:
Post a Comment