Monday, April 21, 2014

बढ्दै साइबर अपराध

प्रविधि
बढ्दै साइबर अपराध
ललितपुर लुभुकी सुनिता श्रेष्ठ पढाइको सिलसिलामा अस्ट्रेलिया रहेको बेला विराटनगरका कविर श्रेष्ठसँग फेसबुकमा परिचय भयो। सामाजिक सञ्जालमा भएको चिनजान फोटो आदानप्रदानको तहसम्म पुग्यो। त्यतिमात्र होइन, उनीहरूले प्रेमको कसम पनि खाए। सुनिताले फेसबुकको इनबक्समा पठाएको तस्बिरलाई कविरले कम्प्युटर सफ्टवेयरको माध्यमबाट परिवर्तन गरि अश्लील बनाए।
यस्तै विभिन्न माध्यमबाट उनले पठाएका गोप्य फोटोलाई पनि उनले संग्रह गरेर राखे। फोटो सार्वजनिक गरिदिने धम्की दिँदै तीन वर्षदेखि पटकपटक रकम माग गर्न थालेपछि सुनिताका अभिभावक गत साउनमा प्रहरीमा उजुरी दिन पुगे। प्रहरीले उनीविरुद्ध मुद्दा चलाए पनि अदालतले नौ लाख ४५ हजार धरौटी मागेपछि धरौटी राख्न नसकी थुनामा बस्नु पर्‍यो।
काँडाघारीका २६ वर्षका हरिश खरेलले एउटै कलेजकी साथी दोलखाकी २४ वर्षीया अनामिका ढुंगानाको फोटोको टाउको अश्लील तस्बिरमा जोडेर फेसबुकमा राखिदिए। पटकपटक यसरी दु:ख दिएपछि अनामिकाले पनि प्रहरीको ढोका ढकढक्याउनु पर्‍यो।
यस्तै स्वयम्भूकी फूलकुमारी थापाले आफ्ना हुनेवाला ज्वाइँ सुरेश थापालाई अनुपा गुरुङले मोबाइलमा अश्लील म्यासेज पठाएको आरोप लगाउँदै प्रहरीमा उजुरी दिइन्। यो आरोपमा बूढानीलकण्ठकी अनुपा पक्राउ परिन्। २५ हजार धरौटी लिएर उनलाई रिहा गरियो।
पीडित र पीडकका नाम परिवर्तन भएका यी घटना महानगरीय प्रहरी परिसर हनुमानढोकामा दर्ता भएर कारबाही अघि बढेका आपराधिक क्रियाकलाप हुन्। यी घटना प्रविधिको विकासँगै आपराधिक गतिविधिको रूप फेरिने क्रममा भएका अपराधहरू हुन्। विद्युतीय माध्यम प्रयोग गरेर हुने आपराधिक क्रियाकलापको संख्या पछिल्लो समयमा बढ्दै गएको तथ्यांकहरूले देखाउँछ।
सामाजिक सञ्जालको दुरुपयोग, इमेलको गलत प्रयोग, सूचनाको चोरी, अश्लील वेबसाइट निर्माण, वेबसाइटसम्बन्धी विवाद, एटीएमबाट अर्काको पैसा ठगी, अश्लील एसएमएस पठाएर दु:ख दिने तथा मानहानि गर्ने किसिमका अपराधको संख्यामा पछिल्ला वर्षहरूमा वृद्धि हुँदै आएको छ।
सामाजिक सञ्जालमा अश्लील फोटो राखिदिने, सफ्टवेयरको माध्यमबाट अनुहारलाई अश्लील तस्बीरसँग जोडेर सार्वजनिक गर्ने, गोप्य भिडियोहरू सार्वजनिक गरिदिनेजस्ता क्रियाकलाप यस्ता अपराधका प्रवृत्तिका रूपमा रहेका छन्।
अन्य प्रकृतिको अपराधको तुलनामा थोरै संख्या देखिए पनि यसको प्रकृति र संख्यात्मक रूपमा भएको वृद्धि उल्लेख्य रहेको अपराध अनुसन्धान महाशाखाका प्रहरी निरीक्षक पशुपति राय बताउँछन्।
महाशाखाको तथ्यांकअनुसार विद्युतीय अपराधमध्ये धेरैजसो सामाजिक सञ्जालसँग सम्बन्धित छन्।
गत आर्थिक वर्षमा महाशाखामा दर्ता भएका ८३ वटा विद्युतीय माध्यमबाट भएका अपराधमध्ये ५८ वटामा सामाजिक सञ्जाल प्रयोग भएका छन्। यस्तै इमेलबाट दिइएको धम्कीसम्बन्धी आठ, गैरकानुनी रूपमा सूचनाको प्रयोगसम्बन्धी दुई, वेबसाइट तथा इमेल ह्याकसम्बन्धी तीन, अश्लील वेबसाइटसम्बन्धी तीन, एसएमएससम्बन्धी नौवटा मुद्दा छन्। सामाजिक सञ्जालका अधिकांश अपराध फेसबुककै प्रयोग गरेर भएको पाइएको छ।
युवा पुस्तामाझ लोकप्रिय इन्टरनेट र त्यसमा पनि सामाजिक सञ्जाल फेसबुकबाट गैरकानुनी क्रियाकलाप हुन थालेपछि प्रहरी प्रशासनका लागि पनि चुनौती थपिएको छ।'विद्युतीय माध्यम प्रयोग गरेर मानहानि भएका मुद्दा धेरै छन्', प्रहरी निरीक्षक राय भन्छन्, 'आर्थिक लेनदेन र फाइदाभन्दा पनि चरित्र हत्या गर्ने र मनोरञ्जन लिने उद्देश्यका मुद्दा धेरै दर्ता भएका छन्।'
फोटो सम्पादन गरेर अरूको शरीर जोडिदिने, सम्बन्ध राम्रो भएको बेला खिचिएका तस्बिर र भिडियो सम्बन्ध बिग्रिएपछि सार्वजनिक गर्ने तथा ब्ल्याकमेल गरेर फाइदा लिने साधनका रूपमा प्रयोग गर्नेजस्ता अपराध फेसबुकमा देखिएको उनको भनाइ छ।
यस्तै अश्लील र धम्कीपूर्ण एसएमएससम्बन्धी मुद्दा पनि प्रहरीसमक्ष पुग्ने गरेका छन्। इन्टरनेटको माध्यमबाट हुने अपराधमा प्रमाण नष्ट गर्न सजिलो हुने भएकाले धेरै अपराधी उम्कने गरेका छन्। महाशाखाका आईटी सेलका इन्चार्ज राय अहिलेसम्म आएका मुद्दामा कुनै न कुनै रूपमा प्रमाण भेटिएकै बताउँछन्।
वर्षभरिका अपराधको तुलना संख्यात्मक रूपमा कम देखिए पनि साइबरसम्बन्धी मुद्दा वृद्धिदर चुनौतीपूर्ण रहेको महानगरीय प्रहरी परिसर हनुमानढोकाका डीएसपी अर्जुन चन्द ठकुरी बताउँछन्। पछिल्लो तीन वर्षको विद्युतीय तथ्यांकअनुसार सामाजिक सञ्जालसम्बन्धी अपराधको संख्या पनि दोब्बरभन्दा बढीको संख्यामा बढेको छ।
आर्थिक वर्ष २०६७/६८ मा सामाजिक सञ्जालको माध्यमबाट भएको अपराधको संख्या १२ थियो भने २०६८/६९ मा यसको संख्या बढेर ३२ पुगेको थियो। यस्तै गत आर्थिक वर्षमा यस्ता अपराधको संख्या ५८ वटा थिए।
नेपालमा अहिले प्रचलित कानुनले यस्ता अपराधलाई साइबर अपराधकै रूपमा भने सम्बोधन गरेको छ। विद्युतीय कारोबार ऐन २०६३ ले कम्प्युटर स्रोत संकेतको चोरी, नष्ट वा परिवर्तन, कम्प्युटर सामग्रीमा अनधिकृत पहुँच, कम्प्युटर तथा सूचना प्रणालीमा क्षति पुर्‍याउने, विद्युतीय स्वरूपमा गैरकानुनी प्रकाशन गर्ने, झूठा बेहोराको सूचना दिने, कम्प्युटरको माध्यमबाट जालसाजी गर्नेजस्ता विषयवस्तुलाई अपराधका रूपमा उल्लेख गरेको छ। ऐनले यस्ता अपराधमा दुईदेखि पाँच वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिवाना सजायको व्यवस्था गरेको छ। कसुर गरेको थाहा भएको ३५ दिनभित्र प्रहरीमा जाहेरी दिएमा साइबर अपराधसम्बन्धी मुद्दा सरकारवादी भएर अघि बढ्छ।
साइबर अपराधमा कुनै सीमा हुँदैन। अस्ट्रेलियामा बसेका व्यक्तिले नेपालमा रहेका व्यक्तिलाई पीडा दिन सक्छन्। अपराध पुष्टि गर्ने आवश्यक प्रमाण पनि सजिलै नष्ट गर्न सकिन्छ। त्यसैले साइबर अपराध संवेदनशील मानिन्छ।

No comments:

Post a Comment