सोसल मिडिया र आमसञ्चारका अन्य माध्यमहरू एक-अर्काका परिपूरक हुन्
अमेरिकाको क्यारोल्टनमा मुख्यालय रहेको सोसल बिजनेस इन्टेलिजेन्स कम्पनी 'सिम्प्लिफाई ३६०' इन्टरनेटको दुनियाँमा चर्चित बन्दै गएको छ । सोसल मिडिया एनालाइसिस तथा अनुसन्धानका लागि एसियाकै अग्रस्थानमा रहेको यो कम्पनीले अमेरिका, मलेसिया, कोरिया एवं नेदरल्यान्डका अन्य कम्पनीहरूसँग साझेदारी गरेको छ । त्यस्तै १ सयभन्दा बढी मुलुकमा आफ्नो उत्पादन तथा सेवाहरूको कारोबार गर्छ । कुनै पनि कम्पनीका उत्पादन तथा कर्पोरेट हाउसको सेवाका सम्बन्धमा बजारमा कस्ता खालका टीका-टिप्पणीहरू हुन्छन्, जिज्ञासा एवं समस्या आइरहेका छन्, सेवाग्राहीहरूलाई कसरी सम्बोधन गर्ने, अबको बजार रणनीति कस्तो बनाउने जस्ता कुरामा 'सिम्प्लिफाई ३६०' ले अनलाइन टुल्समार्फत अध्ययन, अनुसन्धान गरी रिपोर्ट तयार पार्छ । त्यस्तै कुनै सेलिब्रेटी, व्यापारी एवं समाजसेवीले पनि उक्त कम्पनीको सेवा लिन सक्छन् । मोरङको उर्लाबारीका ३० वर्षीय भूपेन्द्र खनाल यही कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् । मोरङको पशुपति बोर्डिङ स्कुलबाट एसएलसी, दमक मोडल उमावि, झापाबाट प्लस टु तथा नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजी, दुर्गापुर, पश्चिम बंगालबाट कम्प्युटर इन्जिनियरिङमा बिई गरेका खनाल काठमाडौं आएका बेला नरेन्द्र रौलेले गरेको कुराकानी :
बैंगलोरमा ६ जनाबाट सुरु भएको 'सिम्प्लिफाई ३६०' ले यतिबेला ठूलो आकार लिएको छ । २७ जना स्टाफ छन् । विभिन्न देशमा यसको विस्तार हुने क्रम बढ्दो छ । सन्तुष्ट हुनुहुन्छ ?
छैन, अहिल्यै किन सन्तुष्ट हुनु ? मलाई त अझै २७ हजार मानिसलाई रोजगारी दिनु छ ।
त्यसको सम्भावना कत्ति को देख्नुहुन्छ ?
अवश्य देख्छु । हाम्रो जस्तै अन्य सफ्टवेयर कम्पनी छन् भारतमा, जस्तो टिसिएसमा ४ लाख मानिस काम गर्छन्, त्यस्तै इन्फोसिसमा २ लाखले काम गर्छन् । अरूले त गरेकै छन् भने हामीले किन गर्न नसक्नू ?
'सिम्प्लिफाई ३६०' नाम कसरी रहन गयो ?
सुरुमा हाम्राे कम्पनीको नाम इन्रेप सिस्टम थियो भने प्रोडक्टको नाम 'सिम्प्लिफाई ३६०' थियो । पछि ब्रान्ड एउटै हुनुपर्छ भन्ने लाग्यो । हामी बैंगलोरमै मुख्यालय बनाएर काम गर्दै थियौं । पछि अमेरिका सार्यौं र कम्पनीको नाम पनि 'सिम्प्लिफाई ३६०' राख्यौं ।
यसको अर्थ के हो ? उद्देश्यचाहिँ के राख्नुभएको थियो ?
मानिसले सहज रूपमा जीवन बाँचुन् । कुनै कम्पनीका उत्पादन प्रयोग गर्दा, कम्पनी खोज्दै हिँड्नु नपरोस् । कम्पनीले तपाईंलाई खोज्दै आओस् भन्ने लाग्यो । त्यो कुन बेला मात्र सम्भव छ भने, जब तपाईंले आफ्ना समस्याहरू राख्नुहुन्छ । त्यसका लागि पनि फोन, इमेल चाहियो । कि त कम्पनीमै धाउनुपर्यो । हाम्रो उद्देश्यचाहिँ फोन, इमेल खोज्नु नपरोस् । अफिस पनि धाउनु नपरोस् भन्ने हो । जहाँ सजिलो लाग्छ, त्यही समस्या राख्ने हो । हामीले फेसबुक, टि्वटर, युट्युब, ब्लग, फिलिकर र विभिन्न माध्यममा विभिन्न टुल्स प्रयोग गरेर अनुसन्धान गर्न थाल्यौं, जसले गर्दा कम्पनीहरूलाई आफ्नो बजार रणनीति बनाउन तथा सेवाग्राहीको समस्या सम्बोधन गर्न सहज भयो ।
समूहमा को-को हुनुहुन्छ ?
यो कम्पनी सुरु गर्नुअघि मैले फेयरआइज्याक र मार्केटिलिजेन्ट दुइटा कम्पनीमा काम गरें । दुइटै छोडेपछि मेरो ध्यान सफ्टवेयर प्रोडक्ट कम्पनीतर्फ गयो । एक दिन मार्केटिलिजेन्ट कम्पनीमा काम गर्ने बैंगलोरकै साथी श्वेता शर्माले लन्च गर्न आफ्नो घरमा बोलाइन् । त्यो बेला सफ्टवेयर उत्पादन गर्ने कम्पनीमा काम गर्ने उनका प्रेमी रोहित गुप्ता पनि सँगै थिए । मैले आफ्नो योजना उनीहरूलाई सुनाएँ, दुवैजना सहमत भए । विस्तारै प्रविधिकै क्षेत्रमा संलग्न नेपाली साथी बिनित थापा, दिप शेरचन, लक्ष्मी खतिवडासामु सबै कुरा राखें । सन् २००८ को अन्त्यतिर हाम्रो योजनाले मूर्तरूप लियो ।
कम्पनी यति छिट्टै चर्चित होला, ठूलो परिमाणमा व्यापार गर्ला भन्ने सोच्नुभएको थियो ?
सोचेको थिइनँ । सोसल मिडियामा एनालाइसिस गर्ने, कम्पनीलाई बुझाइदिने मात्र सोचेका थियौं । केही न केही गर्दै जाऊँ । पछि विस्तारै केही त होला भन्ने लागेको थियो । सुरुका ६ महिना कामै गरियो । यतिको बजार लिन सकिएला जस्तो लागेको थिएन ।
सुरुवातमा कस्ता समस्या सामना गर्नुभयो ?
सुरुवातका केही वर्ष समस्या भयो । तीन वर्षसम्म रिटर्न आएन । आर्थिक मन्दीबीच चुनौतीहरू धेरै थिए । आफूले कमाएको र घरबाट मागेको पैसाकै भरमा चल्नुपर्यो । हामीले तयार पारेको प्रोडक्टको क्षमता देखाउन डाटा पाउनै सकेनौं ।
कम्पनीसँगै व्यापारी, सेलिब्रेटी र समाजसेवीहरूले पनि तपाईंको कम्पनीको प्रोडक्ट प्रयोग गर्न थालेका छन् । कम्पनी र व्यक्तिहरूले तपाईंको उत्पादनबाट कसरी फाइदा लिन सक्छन् ?
मुख्य कुरा कम्पनीले उपभोक्तालाई सेवा दिने हो । फोनबाट ग्राहकका गुनासाहरू सम्बोधन गर्नुभन्दा सामाजिक सञ्जालबाट गर्नु प्रभावकारी हुन्छ । समय र पैसा पनि बचत हुन्छ । मान्छे कम चाहिन्छ । एउटा इन्टरनेट कनेक्सन भयो भने धेरै काम गर्न सकिन्छ । त्यस्तै व्यक्तिको सन्दर्भमा पनि लागू हुन्छ । व्यक्ति पनि त ब्रान्ड हो । उसका पनि प्रशंसकहरू हुन्छन्, व्यक्तिपिच्छे जवाफ दिन सकिँदैन । एकचोटि फेसबुक, टि्वटरमा लेख्दा त्यो सन्देश सबै मानिससम्म पुग्छ । आममानिसले कुनै व्यक्तिका बारेमा कसले के भन्छन्, जिज्ञासा, धारणा, अपेक्षाहरू के-के छन्, विभिन्न टुल्स प्रयोग गरेर हामीले एनालाइसिस गर्छौं, जसले गर्दा उनीहरूलाई आममानिससम्म प्रभावकारी ढंगमा पुर्याउँछ । पहिचान अझ बढाइदिन्छ । गल्ती, कमजोरीहरू सुधार्ने मौका पनि मिल्छ ।
त्यसका लागि खर्चचाहिँ कति लाग्छ ?
भारतमा एउटै व्यक्तिले ५ देखि १० लाख भारु खर्च गरेका छन् । मुख्य राजनीतिक पार्टीहरूले यसैपालि १० देखि ५० करोड भारुसम्म खर्चिए । युरोपमा त अझ २० देखि ५० मिलियन डलरसम्म खर्चिएका उदाहरण छन् ।
त्यस्तो कामका लागि कत्तिको प्रस्ताव आउँछन् ?
अहिले प्रस्ताव एकदम बढिरहेका छन् । कसैका लागि पैसाभन्दा पहिचान बढी महत्वपूर्ण हुन्छ । पैसा-गाडी आदि भएर के गर्नु ? यदि पहिचान छैन भने । भारतमा नरेन्द्र मोदी र अरबिन्द केजरीवालले पनि त पैसाभन्दा आफ्नो पहिचान बनाउन खोजेका हुन् नि ।
तपाईंले पहिचानका लागि काम गर्नुभएको हो कि पैसाका लागि ?
काम गर्ने भनेको पैसाका लागि होइन । सपनाका लागि हो । मेरो उद्देश्य पनि लखपति बनुँ भन्ने होइन । आफ्नो भ्यालु क्रियट गरौं र सकेसम्म धेरैलाई रोजगारी दिउँ भन्ने हो ।
कुन सिलसिलामा नेपाल आउनुभयो ? उपलब्धि भयो ?
हाम्रो कम्पनीको बजार प्रवर्द्धन गर्न आएकी हुँ । एनसेल, वाइवाइ, एनटीसी, काल्सवर्गजस्ता ठूला कम्पनीलाई आफ्नो उत्पादन र सेवा दिन आएको हुँ । यसबीच मसँग ३५ वटा नेपाली कम्पनीले आफै सम्पर्क गरेका थिए । हाम्राे सेवाबाट कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा छलफल चलाएका थिए । सफ्टवेयर बेच्ने, साझेदारी गर्ने आदि विषयमा छलफल भयो । सबैजसो कम्पनीले व्यापक चासो लिएको देखेर म उत्साहित भए । मलाई विश्वास छ, अबको एक वर्षभित्र १०/१२ वटा कम्पनीले हाम्रो प्रोडक्ट प्रयोग गर्नेछन् । नेपाल सानो छैन, गरिब छैन । मार्केट भनेको त मान्छे हो नि । मैले यहाँ पनि विशाल सम्भावना देखें ।
सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ । गालीगलौज, आरोप-प्रत्यारोप लगाउनेहरू उत्तिकै छन् । अपराधका घटनाहरू पनि भैरहेकै छन् । यसलाई कसरी लिनुहुन्छ ?
यसमा माध्यमको दोष छैन । कुनै पनि कुरालाई कसरी प्रयोग गर्ने भन्ने कुरा त आफ्नै हातमा हुन्छ नि । दुरुपयोग त फोन, इमेलको पनि भैरहेकै हुन्छ । प्रविधिमा समस्या छैन, यो कुरा व्यक्तिको प्रयोगमा भर पर्छ । सकारात्मक प्रयोग हुनुपर्यो ।
सोसल मिडियाहरू शक्तिशाली बन्दैछन् । यसले मुलधारका मिडियालाई विस्थापित गर्दै लगेको हो ?
होइन, सोसल मिडिया र आमसञ्चारका अन्य माध्यमहरू एक-अर्काका प्रतिस्पर्धीभन्दा पनि परिपूरक हुन् । बरु यी दुवैले गर्दा एक-अर्कालाई सहयोग पुगिरहेको छ । जस्तो सामाजिक सञ्जालमा उठ्ने विषय, छलफल, बहसलाई लिएर सञ्चारकर्मीहरूले समाचार तयार पार्न सक्छन् । सम्पादकहरूले आफ्ना पाठकहरू के चाहन्छन्, बुझ्न सक्छन् । आफूले गरेका कामका सम्बन्धमा छिट्टै प्रतिक्रिया लिन सक्छन् र, थप कस्ता सामग्री दिने योजना बनाउन सक्छन् ।
मिडियाको बलियो पक्ष भनेको विश्वसनीयता र व्यवस्थित कन्टेन्ट हो । सामाजिक सन्जालमा त जे पनि आइरहेको हुन्छ, सबैले आफ्नो धारणा राखिरहेका हुन्छन्, के गलत, के सही भन्ने कुरा त मिडियाले छुट्याउन सक्नुपर्छ । त्यसकारण सोसल मिडियाले मूलधारका मिडियाको महत्व, दायरा र क्षेत्र बढाइदिएको छ । बढी प्रजातान्त्रिक पनि बनाइदिएको छ ।
भारतमा चुनावताका राजनीतिक पार्टीहरूले तपाईंको प्रोडक्टबाट फाइदा लिए । सामाजिक सञ्जालबाट पार्टीहरूले चाहिँ कसरी फाइदा लिन सक्छन् ?
हामी सामाजिक सञ्जालहरूमा जनताले कुन विषयमा बहस गरिरहेका छन्, के चाहिरहेका छन्, कुन मुद्दालाई सम्बोधन गर्न आवश्यक छ, अनुसन्धान गर्छौं । चुनावी रणनीति कस्तो बनाउने, कसरी जनताका मुद्दा सम्बोधन गर्ने, यस्तै विषयमा सल्लाह दिन्छौं, जसले गर्दा उनीहरू सहजै जनतासामु पुग्न सक्छन् । आफ्ना विचारहरू राख्न सक्छन् र, आफ्ना पक्षमा जनमत बटुल्न सक्छन् ।
अब दलहरूले सामाजिक सञ्जालहरूमार्फत अरूका कुरा पनि सुन्नुपर्छ, छलफल र बहसमा आउनुपर्छ, गलत अफवाह फैलाइएको छ भने, स्पष्टीकरण दिनुपर्छ । आफ्नो महत्व स्थापित गर्न सक्नुपर्छ । लाइक र कमेन्ट बटुलेर मात्र हुँदैन ।
'सिम्प्लिफाई ३६०' को प्रोडक्टका प्रयोगकर्ता को-को छन् ?
महिन्द्रा, यामाहा, स्टार टिभी, इकोनोमिक टाइम्स, कफी चेन क्याफे कफी डे, बैंकहरू, रिटेल कम्पनी एवं मिडिया एजेन्सीहरू छन् ।
अबको बजार रणनीति कस्तो बनाउँदै हुनुहुन्छ ?
सन् २०१४ भित्र अमेरिकामा अफिस विस्तार गर्ने योजना छ । सिलिकन भ्याली र सिकागोमा थप शाखा खोल्ने छौं । सन् २०१५ मा सिंगापुर र दुबईमा पनि शाखा खोल्ने विचार छ । अन्य कतिपय मुलुकमा अन्य कम्पनीहरूसँग मिलेर साझेदारी गर्ने तयारीमा छौं ।
सहकार्यमा सोसल नेटवर्किङ, मार्केटिङ आदि विषयमा पुस्तक पनि लेख्नुभयो । कत्तिको बिक्री हुन्छ ?
धेरै बिक्री नभए पनि सयौं हाराहारीमा बिक्री हुन्छ । कतै हाम्राे क्याम्पेन हुँदा निःशुल्क पनि वितरण गर्छाैं । सभा, सेमिनार र अनलाइनबाट पनि बिक्री हुन्छ । हाम्रो कम्पनीको मार्केटिङमा पुस्तकले पनि ठूलो सहयोग गरेको छ ।
नेपालमा तपाईंले गर्न चाहे जस्तो सोसल नेटवर्किङ साइटको व्यापार हुने सम्भावना कत्तिको छ ?
नेपालमा पनि यसको सम्भावना छ । केही सीमित कम्पनीले केही वर्षयता त्यसको अभ्यास गरिरहेका पनि छन् । यहाँ काम गर्ने अनुभवि र दक्ष मानिस देखिनँ । अबको १० वर्षमा यहाँ ठूलो विकास होला भन्ने लागेको छ । जस्तो विनोद चौधरी धेरैका लागि आइकन बनेका छन् । अरू कुरा जे जस्तो भए पनि नेपालमै बसेर पनि अर्बपति बन्न सकिने रहेछ भन्ने कुराको प्रमाण त उनी हुन् नि । मलाई लाग्छ, नेपालमै बसेर ग्लोबल बिजनेस गर्न सकिन्छ ।
तपाईंको व्यक्तिगत रुचिचाहिँ केमा छ ?
कविता लेख्नमा रुचि छ । म स्कुल पढ्दा अंग्रेजी तथा नेपाली कविता लेख्थें । कतिपय प्रतियोगितामा पुरस्कार पनि जितेको छु ।
फेरि कविता लेख्नुभएन त ?
अहँ, लेखिनँ । जबरजस्ती बन्द गरेको हुँ । किनभने ब्रान्ड क्राइसिस हुनुहुँदैन । पहिचान हराउनु हुँदैन । जे बन्न खोजेको हो त्यही बन्नुपर्छ । अहिले म आफूलाई व्यापारीका रूपमा मात्र चिनाउन चाहन्छु ।
लक्ष्यचाहिँ के लिनुभएको थियो ?
डाक्टर बन्ने । बुबा स्वयं व्यापारी हुनुहुन्थ्यो । मेरो औषधि पसल थियो । डाक्टर बनेर धेरैको सेवा गरौंला भन्ने लाग्थ्यो । मैले एमबीबीएसको सिटमा नाम पनि निकालिसकेको थिएँ । तर पठन मन लागेन । फेरि बीचैमा लाग्यो, सूचना प्रविधिको क्षेत्रमा हात हालेर बृहत् रूपमा सेवा दिन सक्छु ।
आफूले रोजेको पेसामा सन्तुष्ट हुनुहुन्छ ?
एकदम सन्तुष्ट छु । त्यसैले त तनमन दिएर लागिरहेको छु ।
No comments:
Post a Comment