Monday, April 21, 2014

पत्नी मार्ने डीआईजीलाई जन्मकैद

समाज
पत्नी मार्ने डीआईजीलाई जन्मकैद
काठमाडौं : जिल्ला अदालत काठमाडौंले सशस्त्र प्रहरी बलका तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जनप्रसाद कोइरालालाई पत्नी हत्याको कसुरमा सर्वस्वसहित जन्मकैद सजाय सुनाएको छ। न्यायाधीश मोहम्मद जुनैद आजादको इजलासले कर्तव्य ज्यान मुद्दाका अभियुक्त कोइरालालाई आइतबार उक्त सजाय सुनाएको हो।
बूढानीलकण्ठस्थित निवासमा पत्नी गीता ढकालको हत्या गरी २०६८ साल पुस २८ गते मकवानपुर टिस्टुङको मेत्राङ लगेर शव जलाएको दाबीसहित कोइरालाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको थियो। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २०६८ साल साउन ११ गते अदालतमा मुद्दा दायर गरेको हो। हत्याको ढाकछोप गर्न पत्नीको शव जलाएर फर्किंदै गर्दा उनलाई बाटैबाट पक्राउ परी थुनामा राखिएको थियो। सिरानीले गीताको मुख छोपेर हत्या गरेका उनले शव मेत्राङ पुर्‍याई पेट्रोल छर्केर जलाएका थिए।
जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार नारायण रेग्मीले इजलासबाट कोइरालालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नम्बरबमोजिम सर्वस्वसहित जन्मकैदको सजाय तोकिएको बताए। मुलुकी ऐनको उक्त नम्बरमा हतियार वा अन्य वस्तुले प्रहार गरी कसैको मृत्यु भएमा सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ। इजलासले कोइरालाकी प्रेमिका तारा रेग्मीको हत्यामा प्रत्यक्ष संलग्नता नदेखिएको भन्दै मतियारमा एक वर्ष जेल सजाय तोकेको छ।
बयानका क्रममा ताराले बारदातका बेला आफू विदेशमा रहेको बताएकी थिइन्। मुद्दा चल्दाको समयमा जिल्ला अदालतले उनलाई एक लाख रुपैयाँ धरौटीमा तारेखमा राखे पनि पुनरावेदन अदालत पाटनले भने पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उक्त आदेश कार्यान्वयन गर्न तारा अहिलेसम्म अदालतमा उपस्थित भएकी छैनन्।
प्रेमविवाह गर्ने बाटो खुलाएर कोइरालाको सम्पत्ति हत्याउन ज्यान मार्ने षड्यन्त्रमा संलग्न रहेको अभियोग ताराविरुद्ध थियो। उनले हत्याअघि तीनपल्ट र हत्यापछि ६ पल्ट मलेसियाको मोबाइल नम्बरबाट कोइरालालाई फोन गरेको प्रमाण प्रहरीले अदालतमा पेस गरेको थियो।
अदालतले भने हत्या षड्यन्त्रमा ताराको प्रत्यक्ष संलग्नता पुष्टि नभएको भन्दै मुलुकी ऐन ज्यानसम्वन्धी महलको १७ (३) नम्वर अनुरुप मतियारमा सजाय तोकेको हो। कानुनत: हत्यामा 'षड्यन्त्र' ठहर भएमा १० देखि १५ वर्षसम्म सजाय हुन्छ भने 'मतियार' मात्र देखिएमा कम सजाय छ।
गीताका बाबु हरेराम कोइरालाको किटानी जाहेरीका आधारमा रञ्जनलाई पक्राउ गरी अदालतमा मुद्दा दायर गरिएको थियो। अदालतका स्रेस्तेदार रेग्मीले फैसलाको पूर्णपाठ तयार हुन भने समय लाग्ने बताए। फैसला सुन्न जिल्ला अदालत पुगेका गीताका माइती पक्षले अदालतबाट ढिलै भए पनि न्याय भएको बताए।

No comments:

Post a Comment