गाईपालनमै छ सम्भावना
मिति : २०७१ बैशाख ९, मंगलबार [391 पटक पढिएको]
रवि खड्का | बिषय: किसानका कुरा

म भद्रकाली कृषि सहकारी संस्थाको सचिव हुँ। गाईपालनबाटै जीवनमा केही गर्न सकिन्छ भन्ने सोचका साथ यो व्यवसायमा आबद्ध भएका छौं। गाई पालेर राजधानीका सबै मानिसलाई दूध खुवाउन सकिन्छ। काठमाडौंको भद्रकाली कृषि सहकारी संस्था लिमिटेडबाट सञ्चालित भद्रकाली गाईफर्म यसै अभियानमा जुटेको छ। सुरु गरेको तीन वर्षमै फर्मले अहिले २१ वटा गाईबाट दैनिक १६० लिटर दूध उत्पादन गरिरहेको छ।
दूधलाई १०-१२ घन्टासम्म फ्रिजमा राखिन्छ। प्याकिङ गरिन्छ र उपभोक्ताका घरघरमा पुर्याइन्छ। प्रतिलिटर दूधको मूल्य ६५ रुपैयाँ छ।
सहकारीले ५० रोपनी जग्गा भाडामा लिएको छ। ३० रोपनी जग्गामा घाँस लगाएको छ। घाँसमा जै, नेपियर र टुकेन्ट्री छन्। जाडो मौसममा गाईलाई पराल र जै तथा अघिपछि नेपियर र टुकेन्ट्री घाँस खुवाइन्छ।
फर्ममा दुइटा गोठ छन्। सरकारी नापअनुसार गोठ निर्माण गरिएको छ। दाना, पानी खाने र बस्ने अलगअलग ठाउँ छ। गाई बस्ने ठाउँमा इँटा बिछ्याइएको छ। एउटा गोठमा १६ वटा कार्पेट बिछ्याएको छ। अर्को गोठमा पनि कार्पेट बिछ्याउने तयारी भइरहेको छ।
फर्मले वर्ष दिनपछि गाई थपेर ११ वटा पुर्यायो। अहिले ५२ वटा छन्। बाच्छी जन्मिए गोठमै राख्ने गर्दै आएको छ। अहिले तिनै बाच्छी बढेर ब्याउँछन्। फर्ममा होलिस्टिन र लोकल जर्सी गाईछन्। फर्मले आगामी एक वर्षभित्र गाईको संख्या बढाएर १५० वटा पुर्याउँदै छ। सहकारीले डेरी सञ्चालन गर्ने तयारी गरिरहेको छ। डेरी फर्मबाट उत्पादित दूधबाट दुग्धजन्य वस्तु उत्पादन गर्नेछ। त्यसैगरी सहकारीले कर्जा प्रवाह गर्दै आएको छ।
समाजमा केही नमुना काम गरेर देखाउने सोचका साथ यो व्यवसायमा हात हालियो। गाईपालनमै सम्भाव्यता देख्यौं। रूपन्देही, चितवन, जिरी पुगेर गाईफर्म हेर्यौंं। कृषिविज्ञकहाँ पुग्यौं, सरसल्लाह गर्यौं र अन्तत: गाई पाल्ने निर्णयमा पुग्यौं।' अहिले म त्यही सहकारीको सचिव छु। काठमाडौंको खड्का भद्रकाली गाविस-५ को च्यासुन्डोलमा गाई फर्म बनायौं।
२०६७ साल जेठ ९ गतेदेखि तीनवटा गाईबाट फर्म सञ्चालन गर्यौं। गाई फर्मलाई व्यवस्थितरूपमा सञ्चालन गर्न कार्यसमिति गठन गरेका छौं। गाईगोठ हेर्ने, दूध वितरण गर्ने, रकम संकलन गर्ने जिम्मेवारीमा कार्यसमितिका सदस्यहरू नै छौं।
सहकारीका कोषाध्यक्ष विजय महर्जन छन्। गाई फर्म सञ्चालनसँगसँगै हामीले ब्यांकिङ प्रणाली विकास गर्यौं। दूध बिक्रीबाट आएको रकम सहकारीमा जम्मा गर्ने गर्यौं दैनिक, साप्ताहिक र पाक्षिक र मासिक रूपमा। गाई पाल्ने कर्मचारीदेखि गाईका लागि आवश्यक दाना खरिद गर्न रकम चाहिएमा सहकारीबाट रकम निकासा हुन्छ।
कार्यसमितिमा ११ जना छौं भने सदस्यमा ७८ जना छौं। प्रत्येक सदस्यले मासिक एक हजार रुपैयाँ सहकारीमा जम्मा गर्छौं। सुरुमा गाई फर्म सञ्चालन गर्न प्रत्येक सेयर सदस्यबाट २५ हजार रुपैयाँ उठायौं। अहिले प्रतिसदस्यको सेयर ५० हजार रुपैयाँ पुगेको छ।
यसको बजार चक्रपथदेखि बूढानीलकण्ठसम्म रहेको छ। दूधको माग बढी छ, तर उत्पादन कम हुन्छ। हामीले मागअनुसार दूध उत्पादन गर्नै सकेका छैनौं। काठमाडौंमा गाई पाल्न निकै कठिन भइसकेको छ। जग्गा किनेर सकिँदैन। भाडामा पनि भनेजति जग्गा पाइँदैन। ८-१० वटा गाई पाल्न सकिन्छ, तर व्यावसायिक रूपमा गाईपालन गर्न यहाँ सम्भव छैन।
घाँस उत्पादनको लागि वनपाखा छैन। विकासे घाँस छैन। दूध वितरणका लागि गाडी छैन। बढी दूध दिने गाई पाइएको छैन। हामीले गाई पाल्न थालेको तीन वर्ष भयो, तर अहिलेसम्म अनुगमन गर्न सरकारी अधिकारी आइपुगेका छैनन्।
सरकारले गाईको बिमा गर्न र कार्पेटमा आधा अनुदान दिन थालेको छ, तर किसानले राहतको अनुभूति गर्न सकेका छैनन्। हामी जति रकम गाईपालनमा लगानी गर्छौं, त्यति नै रकम सरकारले अनुदान दिए चाहेजति दूध दुहुन्छौं, तर अनुदानजति नक्कली गोठ देखाउनेले नै दुहुन्छन्। हामीले त जति सकेका छौं, त्यति मात्रै दूध दुहिरहेका छौं।'
गाईपालनबाट हामी सन्तुष्ट छौं। कतिपयले हामीलाई भन्नसम्म भने। केही काम नपाएर अब गोबर सोर्न थाल्यौ हैन? भन्ने पनि थिए। अहिले उनीहरू नै गाईगोठका बारेमा सोधखोज गर्छन् र अरूलाई पनि देखाउँदै भन्छन्, 'तिमीहरूले पनि यिनीहरूबाट पाठ सिक्नुपर्छ।'
सहकारीका सबै सदस्यले जीवन निर्वाह र व्यावसायिक दुवै रूपमा गाईपालनमा राम्रो भविष्य देखेका छौं। दुइटा गाईले एउटा परिवार पाल्छ। चारवटा गाईबाट दुई लाख रुपैयाँसम्म बचत गर्न सकिन्छ। व्यावसायिक रूपमा गाईपालन गर्ने हो भने त्यसले ठूलै फाइदा दिनेछ। हजार रोपनी जग्गा पायौं भने हामी न्यूनतम पाँच सयवटा गाई पाल्न सक्छौं। सरकारले छाती खोलेर लगानी गर भनेर गाई किसानलाई आवश्यक सहयोग गर्ने हो भने काठमाडौंको जनसंख्यालाई पुग्ने दूध यहीँ उत्पादन हुन्छ।
उपयुक्त वातावरण भए यहाँ विश्वविद्यालयका प्रोफेसर पनि गोबर सोर्न तयार हुन्छन्, तर वातावरण नहुँदा दुईचारवटा गाई पाल्ने, केही वर्षपछि हराउने र खाडीमुलुकतिर लाग्नेहरू धेरै भइसकेका छन्। सरकारले गाई किसानलाई ९० प्रतिशतसम्म बिमा व्यवस्था गर्नुपर्छ। उन्नत नश्लका गाई दिनुपर्छ। उन्नत बीजको निरन्तर व्यवस्था गर्नुपर्छ। आवश्यक प्राविधिक सरसल्लाह दिनुपर्छ।
किसानलाई लाग्ने अन्त:शुल्क कर मिनाहा हुनुपर्छ। न्यूनतम ब्याजदरमा बिनाधितो ऋण दिनुपर्छ, अनुदान होइन। त्यो पनि व्यावसयिक किसानलाई मात्र दिए हुन्छ। दातृनिकायले कृषिमा लगानी गर भनेर नेपाललाई अर्बौं रकम दिन्छ, तर त्यो रकम हामीले पाउँदैनौं। त्यो रकम सोझै किसानका हातमा आउने हो भने नेपालमा कृषि क्रान्ति हुन्छ।
No comments:
Post a Comment