विचार
प्रमुख अतिथि नआउँदा
मिति : २०७१ बैशाख ८, सोमबार [628 पटक पढिएको]
रम्भा पौडेल | बिषय: सिंगो संसार
लोकतान्त्रिक गणतन्त्र नेपालका जनता सार्वभौम सत्तासम्पन्न भइसकेका छन्, तर उनीहरूको चेतना अझै पछौटे छ। कार्यक्रमहरूमा सकेसम्म मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिलाई प्रमुख अतिथि बनाएर आफ्नो शान बढाउन चाहन्छौं। उच्च ओहोदावाल मानिसलाई प्रमुख अतिथि बनाउनुपर्ने मानसिकताबाट अझै पनि हामी मुक्त हुन सकेका छैनौं। प्रसंग रूपन्देहीको रामापुरस्थित रामापुर उच्च माविको स्वर्ण जयन्ती समारोहको हो।
रूपन्देहीको दुधराक्ष गाविसस्थित यो विद्यालय त्यस भेगकै पुरानो मानिन्छ। २०२१ सालमा स्थापना भएको यो विद्यालयले २०७० को चैत २८ गते स्वर्ण महोत्सव मनायो। प्राविबाट ताते गर्दै पचासौं वर्षमा प्रवेश गरिरहँदा यसका उन्नति र प्रगतिका पाइला पनि चुलिँदै छ।
वर्तमान अवस्थामा यो विद्यालय एकातिर प्लस टु सञ्चालन गरेको छ भने अर्कोतर्फ यस विद्यालयकै प्रांगणमा क्याम्पस पनि स्थापना भएको छ। त्यति मात्र होइन, अहिले यहाँ स्नातकोत्तर तहको पनि पढाइ सञ्चालन भएको छ। उच्चशिक्षा हासिल गर्न चाहने यस भेगका बालबालिकालार्य यसले नयाँ अवसर दिएको छ।
विशेषगरी यस विद्यालयबाट स्कुल र क्याम्पस जानबाट बञ्चित भएका छोरीबुहारी बढी लाभान्वित भएका छन्। यो बाहुन, क्षेत्री र थारू जाति बसोवास भएको क्षेत्र हो। यो विद्यालय स्थापनापछि थारू जातिमा छोरीलाई सानैमा बिहे गरी पठाउने चलन पनि हट्दै गएको छ। पर्याप्त विद्यार्थी संख्या, तालिमप्राप्त शिक्षक र भौतिक पूर्वाधारसम्पन्न यो विद्यालय यस भेगको शैक्षिक जागरणको पुल बनेको छ।
अतिथि दीर्घामा बसेर स्वर्णजयन्ती समारोहको अवलोकन गर्ने अवसर मैले पनि पाएँ। यसलाई पूर्णता दिन शिक्षक, विद्यार्थी, अभिभावक र अतिथिहरूबाट रचनात्मक सहयोग प्राप्त भएको थियो प्रमुख अतिथि उपप्रधान तथा गृहमन्त्री आउने कुराले। समारोहमा वरपरका चारवटा गाउँका वासिन्दाको उपस्थिति थियो।
मन्चमा विशेष अतिथि र अन्य वरिष्ठ अतिथिहरूको उपस्थिति भइसकेको थियो। विद्यालयको नयाँ भवन उद्घाटन गर्न ताम्रपत्रमा मन्त्रीको नाम लेखिएको थियो। त्यस अवसरमा सोही विद्यालयमा अध्ययन गरेर डाक्टर, इन्जिनियर, शिक्षक भइसकेकाहरूको सम्मान गर्ने कार्यक्रम पनि थियो। कार्यक्रममा सहभागीहरू प्रचण्ड गर्मीमा टसमस नगरी बसेका थिए प्रमुख अतिथिको प्रतीक्षामा।
गृहमन्त्री गौतमको पर्खाइमै पाँच बजेपछि सूचना आयो- गृहमन्त्री गौतम नआउने रे ! यसपछि विशेष अतिथिले पानसमा बत्ती बाले। उत्साहित जनसमूहको केही भाग निराश हुँदै आआफ्ना घरतर्फ लाग्यो। व्यवस्थापन पक्ष र शिक्षकहरूको मनै अमिलो भयो। विद्यालय परिपवारले मन्त्री महोदयसँग अरू कुनै कुराको आशा गरेको थिएन, विद्यालयको प्रगति विवरण सुनाउन मात्र चाहेको थियो।
मन्त्री नआउने कुराले अन्य राजनीतिक दलका मानिस हाँसे र मन्त्रीलाई ल्याएरै छोड्ने जिम्मा लिएकाहरूले गाली खाए। मन्त्रीले गाउँवासीको चीर भावनामा ठेस पुर्याए, तर पनि कार्यक्रम सम्पन्न भयो। बधाइ छ रामापुर उच्च मा वि परिवारलाई यहाँसम्म ल्याउने यहाँ सहयोगी हातहरूलाई। गाउँकै पसिनाले, मेहनतले र सेवाभावनाले विद्यालय यहाँसम्म आइपुग्यो भने अब किन अरूको आशा गर्ने? उत्साहित युवाहरू हो, यो विद्यालयलाई देशकै नमुना बनाउन कम्मर कस्नुस्, केन्द्रको मुख ताक्ने प्रवृत्ति अब छोडौं।
अतिथि दीर्घामा बस्नेहरूको एउटै मत के थियो भने राजनीतिक आस्थाका आधारमा मन्त्रीलाई आमन्त्रण गरेर आफ्नो कार्यक्रम र कार्य सफल हुन्छ भन्ठान्ने हाम्रो संकीर्ण मानसिकताले प्राज्ञिक, स्थानीय समाजसेवी ओझेलमा परेका छन्।
देशका कुनाकुनाका कार्यक्रममा मन्त्री वा प्रधानमन्त्री वा राष्ट्रपति वा यस्तै उच्च प्रशासनिक बोलाएर कार्यक्रमलाई चर्चित बनाउने फेसनजस्तै छ। यसैगरी संगीतबारे जानकारी नभएका मन्त्रीलाई सांगीतिक कार्यक्रममा बोलाउने अचम्मको चलन यहाँ छ। यसले सम्बन्धित क्षेत्रका विज्ञको अपमान भइरहेको हुन्छ। यसैले यस्तो चलन छोडेर सम्बन्धित विषयको जानकार या विज्ञ व्यक्तित्वलाई प्रमुख अतिथि बनाउने चलन सुरु गर्नु उपयुक्त हुन्छ।
No comments:
Post a Comment