प्रधानमन्त्री र मन्त्रीहरुले अब खाजामा खर्च नगर्ने
मिति : २०७१ बैशाख २, मंगलबार [462 पटक पढिएको]
रासस |
काठमाडौँ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यले मन्त्रिपरिषद्को बैठक तथा अन्य बैठकमा सहभागी हुँदा खाजामा खर्च नगर्ने भएका छन्। यसले वार्षिक आठदेखि १० करोड रुपियाँसम्म बचत हुने देखिएको छ।
प्रधानमन्त्री सुशील कोइरालाले सरकारी खर्चमा मितव्ययिता अपनाउन मन्त्रिपरिषद्का सदस्यसित आग्रह गरेपछि सो निर्णय भएको हो।
उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले आज काठमाडौँमा आयोजित एक सार्वजनिक कार्यक्रममा यो जानकारी दिएका हुन्।
उनले भने, "प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यसित गर्ने बैठक, छलफल तथा मन्त्रिपरिषद्को बैठकमा अब खाजामा खर्च हुँदैन।"
"बिहान हुने छलफल र बैठकमा निवासबाट चिया तथा नास्ता खाएर आउनुहोस्, अपराह्न तथा साँझमा हुने बैठकमा चिया र बिस्कुट उपलब्ध हुन्छ, प्रधानमन्त्री कोइरालाले भन्नुभएको छ," नर्भिक इन्टरनेसनल अस्पतालको २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री गौतमले भने।
यसको कार्यान्वयन भइसकेको जानकारी दिँदै उपप्रधानमन्त्री गौतमले मन्त्रालयको खाजा खर्चमा पनि मितव्ययिता ल्याउन सुरुवात भइसकेको जानकारी दिए।
No comments:
Post a Comment