सात वर्षीय बालक बलात्कार आरोपमा पक्राउ !
मिति : २०७१ बैशाख २, मंगलबार [6268 पटक पढिएको]
अरुण ज्ञवाली |

भैरहवा : सात वर्षीय बालकले बलात्कार गरे! सुन्दा पनि अचम्म लाग्छ र पत्यार लाग्दैन। चिकित्साविज्ञानले असम्भव ठानेको र कानुनले समेत कल्पना नगरेको यस्तै कसुरमा दोषी हुनसक्ने आशंका गर्दै रूपन्देहीका सात वर्षीय एक बालकलाई अदालतको आदेशमा अनुसन्धानका लागि थुनामा राखिएको छ।
सिद्धार्थनगर नगरपालिका-५ निवासी सात वर्षीय बालकलाई बलात्कार गरेको अभियोगमा अनुसन्धानका लागि भन्दै थुनामा राखिएको हो। सोही वडामा बस्ने ६ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै बालिकाका अभिभावकले उजुरी दिएर पक्राउ गर्न दबाब दिएपछि प्रहरीले उनलाई आइतबार नियन्त्रणमा लिएर जिल्ला अदालतमा पेस गरेको थियो। जिल्ला अदालत रूपन्देहीका न्यायाधीश बालचन्द्र शर्माको इजालसले बालकलाई बालमैत्री थुनाकक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।
बालिकाका अभिभावकले बिहीबार बालिकामाथि करणी गरेको उजुरी प्रहरीमा दिएका थिए। बलात्कारसम्बन्धमा कानुनी रूपमा कुनै प्रमाण नभए पनि अभिभावक र केही सामाजिक संस्थाको दबाबमा बालकलाई पक्राउ गरिएको रूपन्देहीका प्रहरी नायब उपरीक्षक दीपक न्यौपानेले स्वीकार गरे। उनले भने, 'अभिभावक र केही संस्थाले दबाब दिएपछि हामीले अदालतसमक्ष अनुसन्धानका लागि म्याद थप गर्न अनुमति मागेका हौं। अदालतले आदेश दिएमा बालकलाई छोड्न हामी तयार छौं।' प्रहरीले बालक र बालिकाको नाम गोप्य राखेको छ।
प्रहरी नायब उपरीक्षक न्यौपानेले भैरहवास्थित भीम अस्पतालमा स्वाथ्य परीक्षण गर्दा अस्पतालले बालिका बलाकृत नभएको रिपोर्ट दिएको बताए। उनले यसबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए।
चिकित्साविज्ञानका दृष्टिले सात वर्षीय बालकबाट बलात्कार हुने कुरा असम्भव रहेको चिकित्सक बताउँछन्। 'हाम्रो शास्त्रले यसलाई सम्भव ठान्दैन। यो अनावश्यक कुरा हो। रिसइबी वा अरू बदलाको कारणले यस्तो आरोप लागेको हुनसक्छ', भीम अस्पतालका एक चिकित्सकले भने।
बालकका बुबाले भने, 'यस्तो कुरा हामीले कल्पना पनि गर्न सक्दैनौं।' बालिका पक्षलाई कसैले उचालेर क्षतिपूर्ति वा पैसाको बार्गेनिङ गर्नका लागि यस्तो आरोप लगाएको हुनसक्ने बालक पक्षको भनाइ छ। बालकलाई जिल्ला प्रहरी कार्यालयअन्तर्गत एक निरीक्षकको कार्यकक्षमा राखिएको छ।
No comments:
Post a Comment