समाज
हिउँमा पुरिनुअघि दोर्जेले भनेका थिए, मेरो बस्ने ठाउँ यही हो छोरी
मिति : २०७१ बैशाख ८, सोमबार [1703 पटक पढिएको]
पिताम्बर सिग्देल |
दोर्जे खत्री (तस्बीर: फाइल तस्बिर)

काठमाडौं : दुई साताअघि काठमाडौंबाट लुक्ला उड्दा ४६ वर्षीय दोर्जे खत्री सगरमाथा चुम्ने योजनामा थिएनन्। तर पत्नी, तीन छोराछोरीको पढाइ र बूढीआमाको उपचारमा चाहिने पैसा जुटाउनुपर्ने बाध्यताले उनलाई सताइरह्यो।
जन्मस्थल ताप्लेजुङको विकट गाउँ घुन्सा भ्रमण गरेर काठमाडौं आइपुगेका खत्रीलाई सन्तानले सगरमाथा नचढ्न दबाब पनि दिइरहेका थिए। ६ महिनाअघि हिउँपहिरोमा पुरिएर 'पुनर्जन्म' पाएका खत्री यसपटक भने सदाका लागि बिदा भए।
यसअघि सात हजार मिटर अग्लो मनाङको हिमलुङ हिमालमा हिउँपहिरो जाँदा पनि उनी पुरिएका थिए। एउटा हात हिउँबाहिर देखेपछि सहयोगीले खोस्रेर टाउको बाहिर निकालेका थिए। हिउँमा पुरिएर सास फेर्न गाह्रो भएपछि उनलाई न्युजिल्यान्डका एक नागरिकले घाँटीसम्म औंला छिराएर बचाएका थिए।
'यसपटक नजानुस् भनेका थियौं तर तिमीहरूलाई पढाउने र खाने कसले कमाउँछ भन्दै मान्नु भएन', उनकी जेठी छोरी डोमाले अन्नपूर्णसँग भनिन्। खत्रीले अन्य हिमालभन्दा सगरमाथा आरोहण गर्न सजिलो भएको तर्क गर्दै परिवारलाई मनाउने प्रयास गरेका थिए। 'अरू हिमालजस्तो होइन, नौपटक भइसक्यो चुचुरोमा पुगेको आइहाल्छु नि भन्नुभयो', पत्नी फुपु थाक्चे शेर्पाले भनिन्।
'नजाने मुडमा थियो तर अन्तिममा पैसा चाहिएको छ माथि जाँदा पैसा बढी हुन्छ जान्छु भनेको थियो', अल्पाइन एभरेस्ट गाइडका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले भने। उनी अल्पाइनका तर्फबाट आरोहण गाइडका रूपमा आधार शिविर गएका थिए।
चैत २१ गते सगरमाथा आधार शिविर लागेका दोर्जेले हिउँपहिरोमा परी मृत्यु हुनुभन्दा दुई दिनअघि छोरी डोल्मासँग स्काइपमा कुरा गरेका थिए। डोल्माका अनुसार उनले आधार शिविरमा हिउँ परिरहेको दृश्य उत्साहित हुँदै देखाएका थिए। 'मेरो बस्ने ठाउँ यही हो, बाहिर हिउँ परिरहेको छ, हेर त कति राम्रो छ भन्दै हुनुहुन्थ्यो फोन काटियो', डोल्माले भनिन्। फोन काटिएपछि उनले पत्नीसँग भने कुरा गर्न पाएनन्।
खत्रीका बुबा क्षेत्री र आमा शेर्पा हुन्। गाउँमा खानेपानी समस्या देखेपछि उनकै पहलमा खानेपानी आयोजना सञ्चालन भइरहेको छ। पुख्र्यौली थलो पुग्दा उनले आफ्नो पुराना घर मर्मतका लागि दाजुलाई केही पैसासमेत छोडेर आएका थिए। 'हाम्रा बाबुबाजेको घर नभत्कियोस्, राम्ररी मर्मत गर्नू', उनले काठमाडौं आएपछि पनि दाइलाई फोनमा भनेका थिए, 'अब घरमा बिजुली पनि जोड्नू।'
उनले गाउँ जाँदा छिमेकी र साथीभाइलाई कपडा पनि लगिदिएका थिए। उनले काठमाडौं फर्किनुअघि पूर्वको प्रसिद्ध धार्मिक स्थल पाथीभराको दर्शनसमेत गरेका थिए।
दसौंपटक सगरमाथाको चुचुरोतिर लम्किएका खत्रीले नेपालका अधिकांश अग्ला हिमाल चढिसकेका थिए। उनले कञ्चनजंघा एकपटक, मकालु एकपटक, चोयु पाँचपटक, मनास्लु एकपटक, सिसापाङमा दुईपटक, बरुचें पाँचपटक र आमाडब्लम नौपटक चढिसकेका थिए।
शुक्रबार हिमपहिरोमा परी मृत्यु हुने सबैको शव आफन्तले बुझिसकेका छन्। सगरमाथाको शिविर एक र दुईबीचको खुम्बु आइसफलमा आएको हिउँपहिरोमा परी १३ जनाले ज्यान गुमाएका थिए भने ३ जना हराइरहेका छन्।
No comments:
Post a Comment