द्वन्द्वपीडित बन्दै तीन लाख क्षतिपूर्ति बुझेर छिमेकीको हत्या
मिति : २०७१ बैशाख ८, सोमबार [1489 पटक पढिएको]
केशव अधिकारी |
धादिङ : छिमेकीसँगको झगडामा ११ बर्ष अघि मारिएका आफ्नो छोरोलाई विद्रोही माओवादीले मारेको भन्दै क्षतिपूर्ति लिँदै आएका एक अभिभावकले छोराको हत्यामा संलग्न भएको आरोपमा ११ बर्ष पछि छिमेकीको पनि हत्या गरेका छन्।
धादिङको महादेवस्थान ७ का हस्तबहादुर तामाङको परिवारले कृष्णबहादुर तामाङलाई कुटपिट गरी भीरबाट लडाउँदा उनको मृत्यु भएको थियो। हस्तबहादुर तामाङका साहिँला छोरा पेम्बा तामाङको २०६१ माघ २७ गते छिमेकी कृष्णवहादुरसँगको झगडामा हत्या भएको थियो।
छोराको हत्याका प्रत्यक्षदर्शी बाबु हस्तबहादुरले घटनालाई राजनीतिक मुद्दा बनाएर द्वन्द्वपीडितबापतको तीन लाख रुपैया बुझेका थिए। उनले पेम्बालाई मारेको आरोपमा आफ्ना तीन छोराको सहयोगमा कृष्णबहादुरलाई शुक्रवार राती मारेका हुन्।
दिदीको अन्त्येष्ठि कर्म ( घेवाका लागि ) दिदीको घर जाँदै गरेको बेला हस्तबहादुर र उनका तीन छोराले कृष्णबहादुरलाई नियन्त्रणमा लिइ हातखुट्टा बाँधेर निर्घात कुटपिट गरी भीरवाट लडाएर मारेको प्रहरीले जनाएको छ। कृष्णको शव फेला परेको थाहा पाएपछि प्रहरी टोली शुक्रबार रातीनै घटनास्थल पुगेको थियो।
शाहीकालमा महादेवस्थान गाविसका मनोनित गाविस अध्यक्षसमेत भएका तामाङले साहिँलो छोरा विद्रोही माओवादी पक्षबाट मारिएको भन्दै आफूलाई द्वन्द्वपीडितको सूचीमा दर्ता गराएका थिए। द्वन्द्वको क्रममा जिल्लामा मारिएका दुई सय चाजनाभित्र पेम्बाको नाम पनि छ।
कृष्णबहादुरको हत्यामा संलग्न रहेको आरोपमा हस्तबहादुरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। घटनामा संलग्न अन्य तीनजना फरार रहेकाले उनीहरूको खोजी भइरहेको धादिङ प्रहरी नायब उपरीक्षक अशोकसिंह ठकुरीले जानकारी दिए।
घेवामा सहभागी भएका बेला हस्तबहादुर परिवारले कृष्णबहादुरलाई सुरूमा रक्सी खान दिएको, केहीबेरमा हस्तबहादुर र उनका छोरा मिलेर हातखुट्टा बाँधेर गोली प्रहार गरी बेहोस बनाएर भीरबाट फालेर मारेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। पक्राउ परेका हस्तबहादुरलाई जिल्ला अदालत धादिङले आइतबार सात दिन थुनामा राखी अनुसन्धान गर्न म्याद दिएको छ।
No comments:
Post a Comment