Tuesday, April 15, 2014

शक्तिले सपनाको हत्या गर्न सक्दैन

विचार
शक्तिले सपनाको हत्या गर्न सक्दैन
'सबैभन्दा खतनाक हुन्छ,
मुर्दाशान्तिले भरिनु
छटपटीबिना सबै सहँदैसहँदै जाँनु
घरबाट निक्लनु कामका लागि
फेरि कामबाट फर्केर घरसम्म जानु
सबैभन्दा खतरनाक हुन्छ
हाम्रा सपना मर्दैमर्दै जानु' -अवतार सिंह पास
विक्रमी पात्रो २०७० को पाना हिजोदेखि पल्टियो। नयाँ पात्रो पल्टनासाथ राष्ट्रिय राजनीति र निजी जिन्दगीका पनि आआफ्ना स्तरअनुसार विगतको समीक्षा, आगतको कल्पना र वर्तमानको दायित्वबारे छलफल सुरु भए। स्वाभाविक हो, निजी जीवनदेखि राष्ट्रिय विषयसम्म, समाज, परिवार, मानवीय दायित्व निर्वाह गर्न हिजो के, कसो र कति गरियो? भोलि के गर्ने अठोट गरिरहेका छौं?
के उमारेका सपना जिउँदैछन् र त्यसका लागि केकसो गरिँदैछ? वा निरन्तरतामा नयाँ नौलो गरिन्छ कि भगवान् भरोसे भनेर साबिकलाई धान्ने, तान्ने, लतार्ने गरिन्छ त? त्यसले व्यक्तिगत महत्त्व कति राख्छ वा समाज राष्ट्र वा युगबारे कति चिन्तित हुन्छौं भन्ने समाजको चिन्तनस्तर, राष्ट्रिय विकसित घटनाक्रम, अर्थसम्बन्धले पारेको सोचलाई असर, फेरिइरहेको सामाजिक मनोभाव र विकसित संस्कृति आदिले निर्धारण गर्छन्।
आखिर बितेको सालको लेखाजोखा नगरी आगतको भूमिका किटान गर्न पनि त सकिँदैन। बितेको साल राष्ट्रिय राजनीतिमा भयंकर शान्तिपूर्ण टकराहट रह्यो भने सपनालाई जिउँदो राख्ने कि हत्या गर्ने वा हत्या भइरहेको टुलुटुलु हेर्ने भन्नेबीच रक्तहीन मौनभाषामा घमासान युद्धकाल रह्यो।
विगत सात वर्ष नेपाली समाज र राजनीतिको संवेदनशील संक्रमणकालबाट गुज्रियो। दशक द्वन्द्व झेलेको मुलुकमा शान्तियुद्धका टकराहटमा भिन्न प्रकारका वर्गसंघर्षका रूपमा तीव्रता पायो। मौन भिडन्त भए, तर भीषण भए।
मिडिया राज्यसत्ताको प्रतिविम्बन भएकाले त्यहाँ छरपष्ट भए। संविधानसभा हल रणक्षेत्र बन्यो। आन्दोलनले पैदा गरेका राप र ताप सेलाउँदै जाँदा, त्यसलाई वैधानिकीकरण गर्न उदासीन हुँदाको परिणाम चुनाउमा देखा पर्‍यो, भोग्यो माओवादीले। समाज यथास्थितिमा बस्न नचाहने सिंहदरबार आफ्नो चरित्र रूपमा फेरबदल गरे पनि सारमा फेरिन नचाहने मूल द्वन्द्वका कारण हुन्।
कहिले प्रत्यक्ष कहिले शान्तिपूर्ण टकराहट दुई दशकदेखि समग्र परिवर्तनको महायज्ञ चलेको थियो। दास नढल्ने, रगत नबग्ने तर भिडन्तमा अझ घनीभूत हुने। अहिले ती परिवर्तनका सपना के भइरहेका छन्? जनयुद्ध र जनआन्दोलनले कोरलेका घायल सपना जिँउदै छन्?
कि क्रमश: मर्दैछन्? वा मरिसके? के हुँदैछन् त सपना, प्रतिबद्धता, आशा, विश्वास, कामना, त्याग र बलिदानमाथि ठडिएका जिँउदा लाग्ने शरीर? के सग्ला मान्छे अझै सग्ला नै छन् त? प्रश्न उठे र उठ्दैछन् पनि। २०७० सम्मको लेखाजोखा के हो? भविष्यको योजना के हो? अहिले शान्तियुद्ध भीषण चलिरहेको बेला विगत बिर्साउने भयानक खेल चालू छ।
विगतमा सामाजिक असन्तोषले पैदा गरेका बहुकोणीय समस्याको राज्यले सकारात्मक नेतृत्व गर्न नसक्दा द्वन्द्व सिर्जना गरेर भुक्तभोगी बन्यो देश। जनयुद्धको रूप लियो। विद्रोह र आन्दोलनले पैदा गरेका तीव्र महत्त्वाकांक्षाको सातवर्षे संक्रमणकालमा व्यवस्थापन हुन सकेन। द्वन्द्वले दिएका सन्देश पहिचानको खोजी हो, स्वाभिमानको रक्षा हो, निकास भनेको सत्ताको भागीदारी भएर गर्न खोजेको हो।
तर, शासकवर्ग चंख छ। ऊसँग अनुभव छ, कला छ, शक्तिका अभ्यासमा साम, दाम, दण्ड, भेद, सन्धिविच्छेदको जुनसुकै हतियार चलाउन माहिर छ। समय चिन्न, छान्न चतुर छ। निरन्तरतामा क्रमभंग परिवर्तनवादी चाहन्छन् तर सत्ता सनातन खजबज्याउन चाहँदैनन् तब विवाद हुने भए नै।
ऊ पछाडि हट्न, अगाडि बढ्न सिपालु छ। शक्तिले सग्ला मान्छेलाई अगस्ति भोक जगाएर लम्पटमा फेरिदिन चतुर हुन्छ। जब भूतपूर्व आदर्शवादी आफैंमा, आफ्नै प्रतिबद्धतामा धर्मराउँछन्, च्याँखे दाउ ठोक्न साइत कुरिरहनुपर्दैन घायल शक्तिलाई। ऊ आफ्नै मुर्दावादका नारा स्वयंद्वारा लगाउन उकासिदिन्छ। क्रान्तिकारीलाई स्खलित पार्न र प्रगितशीललाई यथास्थितिमा रिगाउन सकेपछि परिवर्तनका ओठे अजेन्डाले समाजीकरण हुन पाउँदैन।
७० सालमा चुनाउ मात्रै भएन, शक्तिको वैधानिक हेरफेर पनि भयो। माओवादीको दूरदृष्टिहीन निर्णय कर्मचारी सरकार चुत्थो विकल्प थियो। समय घक्र्याउँदा केलाई मुख्य सोच्नुपर्ने, केलाई ध्यान दिनुपर्ने भनेर खुट्ट्याउन नसक्नाका परिणाम मनोगत हुँदा निर्वाचनले त्यसको दण्ड दियो।
स्वयं आफैंले पैदा गरेका समस्याको धरापमा माओवादी फस्यो। पहिलो पार्टी विभाजन गरियो, अनि आपसमा उछितो खनेर यदुवंशीमा फेरियो। एकअर्काको अस्तित्व नासखेलमा नांगा भएर सबै हतियार प्रयोग गरे जो उनीहरूसँग थियो।
द्वन्द्व र शान्तिका कुरा गरौं। बिर्सने रोग लागेकालाई राजबौद्धिक कारिन्दा इतिहास भुलाइदिन चाहन्छन्। सत्ताले ०४८ मा सिडियो अब्दुल रहिस खाँ बनेर रोल्पामा द्वन्द्वको निम्ता गर्‍यो। सत्ता फेरिन चाहँदैन, शक्तिको सामान्य हेरफेरमै ऊ कस्तो निर्मम बन्दोरहेछ भन्ने कुरा अहिले जनयुद्धका घटनालाई जनयुद्ध र जनआन्दोलनले च्यातेका नियमकानुनको तरबार उजाउँदो छ।
निमित्त कारण अगाडि सारेर सत्ता अहिले भिडन्त वा पुरानै कुरालाई सहमति भन्दै स्वीकारेर आत्मसमर्पण निम्त्याइरहेको छ। द्वन्द्वको आवश्यकता पर्ने एउटा वर्ग जन्मिसकेको छ। ऊ द्वन्द्व नभए द्वन्द्व सिर्जना गर्छ। उनीहरूका गतिविधि वीभत्स ककर्सा स्वर डलरयात्रामा सयर गर्दैछन्।
सत्ताको पहुँच, मिडियाका चतुर, लोकप्रिय र आवेगजन्य शब्दका कारखाना बन्छन्। अहिले रछयानमा फ्याँकेको साबिकका कानुन र नियम अगाडि सार्दै नयाँ सिकार खेल्दैछन्। द्वन्द्वको मोर्चा सनातनी कानुन बनेको छ र युद्ध कमान कालाकोटे जर्नेल बन्दैछन् र सौन्दर्यशास्त्रीमा डलरउद्यमी, नजिर बनेको छ गोर्खाको फुजेल।
जनयुद्ध ठूलो द्वन्द्व रह्यो, त्यसभित्र समस्या हुन्छन् नै। समस्याले निकास खोज्छ। तर निकास पछाडि फर्केर दिने कि अगाडि बढेर भन्ने मुख्य विषय द्वन्द्व र शान्तिको त्यान्द्रो यहीं अड्केको छ। संक्रमणको शिखरमा पुगेको ७० साल थाकेका, बहिष्कृत भएकाहरू सामान्य मौका पाउनेबित्तिकै कसरी जाइलाग्दा रहेछन् ती रूप र सारमा के कस्ता हुँदा रहेछन् भन्ने कुरा प्रस्ट पनि भयो।
अहिले ज्वलन्त बनेको प्रश्न जिज्ञासा, राजनीतिक खेल र क्षेल भनेकै शान्ति प्रक्रिया पूरा गर्न होला? वा फेरि देशले अर्को द्वन्द्व झेल्नुपर्छ? अब द्वन्द्व भयो भने दुई पक्षमा नभएर बहुकोणीय रूप लिनेछ, सामरिक महत्त्वको यो भूभागमा के देशले थेग्न सक्ला? इतिहासबाट शक्तिले अन्धा भएकाले पाठ सिक्लान्? के शान्तिसम्झौताका दुई पक्ष, दुई दृष्टिकोण, दुई शक्तिको हस्ताक्षरकर्ताले आफ्ना विगतका प्रतिबद्धता निर्वाह नगरी कुनै निकास निस्कन सक्छ? के त्यो शान्तिसम्झौताका हस्ताक्षर पक्षबीचमा उच्चस्तरीय राजनीतिक सयन्त्र नबनी शक्तिको सम्झौताले वैधानिक रूप लिन पाउला? प्रश्न उठेका छन्।
सबै माओवादी (एमाओवादी, ड्यास माओवादी, मातृका यादव र मणि थापा नेतृत्वको माओवादी) सबैले कहाँ चुकियो, परिवर्तित सन्दर्भमा वर्गसंघर्षको विकास कसरी भएको रहेछ? स्वयं मौनयुद्धको सिकार कसरी बनियो?
सम्भावनालाई कसरी नेतृत्व पहल लिन सकिन्छ भन्ने ०७० ले माओवादी वा सत्ता चरित्र फेर्न चाहनेलाई पाठ सिकायो। त्यसैले हरेक साँच्चै राज्यसत्ताको समग्र परिवर्तन चाहनेले सपनाको सकिनु, मर्नु सबभन्दा खतरनाक हो भनेर निर्मम आत्ममन्थन गर्नुपर्ने हुन्छ।

No comments:

Post a Comment