नेपाली भाषामा अराजकता
मिति : २०७१ बैशाख २, मंगलबार [502 पटक पढिएको]
भक्त खपाङ्गी | बिषय: शिक्षा
विश्वका विकसित र समृद्ध भाषाका आआफ्नै व्याकरण हुन्छन्। व्याकरण भनेको भाषाका लागि संहिता वा अनुशासन हो। यसको पालना गर्नु सम्बन्धित भाषाको प्रयोगकर्ताको कर्तव्य हो। नेपाली भाषाको पनि आफ्नै व्याकरण छ। प्रचलित नेपाली व्याकरण संस्कृत र अंग्रेजी भाषाका व्याकरणको प्रभावबाट निक्कै मुक्त रहेको देखिन्छ। यसले निर्धारण गरेको वर्णविन्यासको नियम भाषाविज्ञानसम्मत देखिन्छ।
नेपाली भाषाको मूल स्रोत अर्थात् जननी भाषा संस्कृत भएको हुनाले त्यस भाषाबाट आएका तत्सम शब्दहरूलाई त्यसैको नियमअनुसार लेख्ने, अनि तद्भव र आगन्तुक शब्दहरूलाई भने नेपाली भाषाको आफ्नै नियमअनुसार लेख्ने मान्यता कायम गरिएकाले ह्रस्व-दीर्घ, ब-व, ऋ-रि/री, श-ष-स, हलन्त-अजन्त, पदयोग-पदवियोग, शिरबिन्दु-चन्द्रबिन्दु आदिको नियम नेपाली पाराकै बनाइएको छ।
अढाई-तीन दशकदेखि यही मान्यता अनुसरण गर्दै विद्यालय, विश्वविद्यालयका पाठयपुस्तकहरू लेखिए। राष्ट्रिय स्तरका छापाहरूले यसैलाई अपनाए, प्रयोग गरिरहे। २०६२-६३ को दोस्रो जनआन्दोलनको सफलतापछि क्रान्तिकारी परिवर्तन गर्दै नयाँ नेपाल निर्माण गर्ने क्रममा उच्च माध्यमिक शिक्षा परिषद्ले नेपाली वर्णविन्यासको स्थापित मान्यताहरूलाई खल्बल्याउँदै नयाँ मान्यताहरू स्थापना गर्यो।
त्यसले निकै ठूलो खैलाबैला मच्चायो। नेपाली भाषाशिक्षक, साहित्यकार, बुद्धिजीवी र भाषाविद्हरूसमेत जागरुक र तरङ्गित भए। त्यतिखेर छक्क पार्ने कुरो के देखियो भने यीमध्ये धेरैले अढाई दशकभन्दा बढी समयदेखि चलिआएको नेपाली व्याकरणको नियमलाई गम्भीरतापूर्वक हेरेकै रहेनछन्।
शहर, शुरु, शायद, शहीद, शर्त, पेश, एशिया, गुण्डा, झण्डा, स्कूल, कानून, नमूना, इङ्गलिश, कम्युनिष्ट, ल्याङ्गवेज, इण्डष्ट्री, गुरुङ्ग, तामाङ्ग, मुस्ताङ्ग जस्ता आगुन्तुक शव्दहरू नेपालीको आफ्नै मौलिक नियमअनुसार सहर, सुरु, सायद, सहिद, सर्त, पेस, एसिया, गुन्डा, झन्डा, स्कुल, कानुन, नमुना, इङ्लिस, कम्युनिस्ट, ल्याङ्ग्विज, इन्डस्ट्री, गुरुङ, तामाङ, मुस्ताङ भइसकेको थाहै पाएका रहेनछन्।
'नयाँ नियम हामी मान्दैनौं, पुरानै नियम पालना गर्छौ' भन्दै उनीहरू कम्मर कसेर निस्किए। पुरानै मानकअनुसारको शब्दकोश पनि बजारमा निकालिए। अहिले त्यसैअनुसारका प्रयोगकर्ताहरू पनि निक्कै देखिन्छन्। उमाशिपले केही बिथोले पनि नेपाली व्याकरणको स्थापित मान्यतामा फेरबदल आएको चाहिँ देखिँदैन, बुझिँदैन। विद्यालय, विश्वविद्यालयस्तरका पाठ्यपुस्तकहरू सोहीबमोजिमकै छन्।
पाठ्यपुस्तकबाहेकका अन्य सबैखाले लिखितहरू यसअन्तर्गत पर्दैनन्। राजधानीबाट प्रकाशन हुने राष्ट्रियस्तरका दैनिक पत्रिकाहरू पनि यही मानकअनुसारकै छन्। नेपाली भाषा र व्याकरणको स्तरीय रूप हेर्न यी दुई साधन र केही साहित्यिक कृतिहरूबाहेक अरू त्यति देखा परेका छैनन्। साहित्यिक पत्रपत्रिकाहरूले त आफ्नै मानक स्थापना गरी प्रयोग गर्ने गरेको पनि देखिन्छ।
नेपाली लेख्य भाषाको शुद्ध रूप हेर्नु पर्यो भने सामुदायिक विद्यालयका पाठ्यपुस्तकहरू र राजधानीबाट प्रकाशित हुने राष्ट्रिय दैनिक पत्रिकाहरू र केही साहित्यिक कृतिहरूबाहेक अन्य भरपर्दा स्रोत सितिमिति देखिँदैनन्।
राज्यका आधिकारिक, जिम्मेवार प्रशासनिक, न्यायिक, शैक्षिक, सांस्कृतिक आदि निकायबाट आउने लेखोटहरूमा व्याकरणगत, वर्णविन्यासगत त्रुटिभन्दा पनि भाषागत, वर्णगत विसङ्गतिहरूसमेत पर्याप्त भेटिन्छन्। राज्यका उच्च, सर्वोच्च निकायहरू पनि भाषाको शुद्धताप्रति सचेत देखिँदैनन्।
राष्ट्रपति कार्यालयबाट प्रकाशित हुने लिखतहरूमा मिति उल्लेख गर्नुपर्दा संवत २०७० साल माघ यति गते लेखिएको हुन्छ। विक्रम संवत् केही विवादमा परेकाले हुनसक्छ 'संवत' मात्र लेखिने गरेको होला। विद्यालयस्तरका नेपाली विषयको पाठ्यपुस्तकमा यस्तो प्रयोगलाई अशुद्ध ठहर्याइएको छ। 'संवत्'को अर्थ पनि 'साल' नै हुने भएकोले यो प्रयोग 'सपरिवारसहित', 'सधन्यवादसहित' वा 'मावि स्कुल' भनेजस्तो हुन्छ।
'संवत्' तत्सम शब्द भएकाले तद्भवको नियम लगाई सम्बत लेख्नु पनि शुद्ध होइन। पञ्चम वर्ण नभएको य र ल व श ष स ह सित शिरबिन्दु (थोप्लो) नै प्रयोग गर्नुपर्ने संस्कृत व्याकरणको नियम रहेको देखिन्छ (संयम, संरक्षण, संलग्न, संवाद, अंश, संसार आदि)।
स्रोत शब्दको प्रयोगमा पनि एकरूपता पाइँदैन। कतै स्रोत, कतै श्रोत लेखिएको देखिन्छ। जलस्रोत, प्राकृतिक श्रोत, मानवश्रोत लेखिएको देखिन्छ। यसलाई अशुद्धै भन्न नमिले पनि नेपाली जिब्राले सजिलै उच्चारण गर्नसक्ने स्रोत लेख्नु उपयुक्त हुन्छ।
एकरूपताका लागि स्रोतमात्र प्रयोग गरे राम्रो हुने थियो। यसैगरी राजस्वलाई राजश्व, गोस्वारा लाई गोश्वारा लेख्नु त अशुद्ध नै हुन्छ। दोस्रो, तेस्रो, छैटौंलाई दोश्रो, तेश्रो, छैठौं लेख्नु पनि उपयुक्त हुँदैन। श्रृंखला, श्रृंगार, श्रृष्टिलाई शृङ्खला, शृङ्गार, सृष्टि लेख्नुपर्छ।
संस्कृत भाषाबाट आएको तत्सम शब्द, एकाइलाई अचेल इकाई लेख्न र भन्न थालिएको छ। सरकारी कागजात, दस्तावेजहरूमा यही शब्द प्रयोग भएको देखिन्छ। एउटा सानो तर पूर्ण खण्डलाई एकाइ भनिन्छ। उर्दू भाषामा एकलाई इक भनेको सुनिन्छ (इकबार मुस्कुरादो) तर नेपालीमा एकलाई कसैले इक भनेको सुनिँदैन।
त्यसैले इकाइ/इकाईभन्दा एकाइ शुद्ध नेपाली रूहो। जनजाति, समितिजस्ता शब्दलाई जनजाति, समिति लेख्नु व्याकरणगत त्रुटि भन्न सकिन्छ तर उल्लिखित शब्दहरूलाई भने वर्णगत त्रुटि भन्नु उपयुक्त होला।
नामकरणलाई नामाकरण, दुरवस्थालाई दुरावस्था, अत्यधिकलाई अत्याधिक, धराशयीलाई धराशायी, मिर्गौलालाई मृगौला, साङ्ग वा सबलाङ्गलाई सपाङ्ग भन्नु वा लेख्नुचाहिँ कस्तो त्रुटि हो? भाषागत? भ्रातृलाई भातृ लेख्ने र भन्नेसमेत गरेको पाइन्छ। यो आवश्यक होइन।
त्यसैगरी आह्वानलाई आव्हान, सदिच्छालाई सदिक्षा भन्ने वा लेख्ने गरेको देखिन्छ। यसलाई शुद्ध भन्न सकिँदैन। संसद्, सभासद्, परिषद्, पार्षद्, महान्, विद्युत् आदि तत्सम शब्दमा हलन्त दिन छाडिएको छ तर बापत, मार्फतजस्ता आगन्तुक शब्दमा हलन्त प्रयोग गर्नु नपर्ने भए पनि दिने गरिएको पाइन्छ।
तत्सम शब्दका केही विशेषण शब्दलाई नाम बनाउँदा सामान्यत: य वा ता प्रत्यय लगाउनुपर्ने नियम देखिन्छ- धीरबाट धैर्य वा धीरता, सुन्दरबाट सौन्दर्य वा सुन्दरता।
अचेल हाम्रामा दुवै प्रत्यय एउटै शब्दमा लगाउने चलन आएको छ- गाम्भीर्यता (गम्भीरता/गाम्भीर्य), चातुर्यता (चतुरता/चातुर्य), बाहुल्यता (बहुलता/बाहुल्य)। फरकमा समेत ता जोडेर फरकता भन्ने गरेका पाइन्छ। विशेषत: तत्सम शब्दमा एउटा मात्र प्रत्यय प्रयोग गर्नु राम्रो हो- गाम्भीर्य, चातुर्य वा गम्भीरता, चतुरता आदि।
विडम्बना नै भन्नुपर्छ- अझसम्म नेपालको राजधानी सहरको आधिकारिक नाम के हो भन्ने टुङ्गो लाग्न नसक्नु। काठमाडौँ, काठमाण्डौ, काठमाण्डू, काठमाँडौमध्ये कुन हो? संसारमा धेरै प्रसिद्ध सहर वा राजधानी सहरको नाम सम्बन्धित सरकारले एकै खेपमा फेरिदिएको पाइन्छ। बर्मा-म्यानमार, कलकत्ता-कोलकाता, बम्बई-मुम्बई, मद्रास-चेन्नई भइसकेका छन्।
काष्ठमण्डपबाट रूप फेरिएर काठमाडौं भएको भन्ने भनाइ छ। डौं को शिरबिन्दुलाई अंग्रेजहरूले रोमनको एन लेखेका होलान्। उनीहरूले आफ्ना जिब्रालाई सजिलो हुने गरी काठमान्डु बनाएका होलान्। त्यसैको प्रभावले होला अहिले यसको नाम दुईतीन खाले हुन पुग्यो।
यसको परम्परागत नाम काठमाडौँ नै हुनुपर्छ। त्यसैले यही नामलाई औपचारिकता दिनु राम्रो होला। काठमाण्डौ त प्रचलित नेपाली व्याकरणअनुसार पनि अशुद्ध छ। संयुक्त हुँदा डसँग पञ्चम वर्ण ण् को प्रयोग संस्कृतमा मात्र स्वीकार्य हुन्छ। नेपालीमा ण् का ठाउँमा न् नै लेख्नुपर्छ।
अर्को एउटा गजबको परिवर्तन आएको छ नेपाली भाषामा। त्यो हो- मानवेतर कर्ताका लागि समेत क्रियापदमा आदरार्थी प्रयोग हुन थालेको छ। राजनीतिक दल, संघसंगठन, सामाजिक संघसंस्थाहरूलाई हिजोआज उच्च आदरार्थी क्रियापद प्रयोग गरिन्छ।
'फलानाफलाना पार्टीहरू यसो गर्दै हुन्छ', 'विभिन्न संघसंगठनहरू पनि सक्दो प्रयास गर्दै हुनुहुन्छ'जस्ता प्रयोग अचेल पर्याप्त हुने गरेको छ। यस्ता प्रयोगले वैधता पाउने हो भने 'नेपाल सरकारले अब यसो गर्दै हुनुहुन्छ', 'जिप्रकाले निषेधाज्ञा घोषणा गर्नुभएको छ' भन्नुपर्ने हुन्छ। यस्तो प्रयोगलाई सकारात्मक रूपमा लिनु हुँदैन।
निष्कर्षमा, नेपाली भाषालाई विकसित र समृद्ध बनाउने हो भने राज्यले वैज्ञानिक भाषानीति अङ्गीकार गर्नुपर्छ, आधिकारिक व्याकरण, शब्दकोशहरू निर्माण गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्छ। भाषालाई अराजक हुन दिनु हुँदैन।
No comments:
Post a Comment