राजनीति
धेरै भाषण भएपछि प्रधानमन्त्री जंगिए
मिति : २०७१ बैशाख ८, सोमबार [944 पटक पढिएको]
कुमार लुइँटेल |
विराटनगर : धेरै भाषण सुन्न परेपछि प्रधानमन्त्री सुशील कोइराला सोमबार विराटनगरमा आयोजकसँग जंगिएका छन्। आफ्नै पार्टी नेपाली काँग्रेसको विराटनगरमा सुरु भएको कोशी अञ्चलस्तरीय प्रशिक्षण उद्घाटन कार्यक्रममा धेरै वक्ताको भाषण सुन्न परेपछि उनी आयोजकसँगै जंगिएका हुन। मेची महाकाली जागरण अभियान अन्तर्गतको कोशी प्रशिक्षणमा सभासद, केन्द्रीय सदस्य र मन्त्री समेत गरी दुईदर्जन बढी वक्ताले भाषण गर्दा साढे ३ घण्टा समय बितेको थियो। यति धेरै भाषण सुन्न परेपछि प्रधानमन्त्री चिढिएका थिए। यो असन्तुष्टि उनले आफ्नो बोल्ने पालो आउना साथ पोखिहाले।
प्रधानमन्त्री कोइरालाले भने, 'पहिले कार्यक्रम राम्रो म्यानेज गर्ने भन्ने प्रशिक्षण दिने व्यवस्था गर्न सुझाउ दिन चाहन्छु। सहभागी त सबै उठेर गइसके हल खाली भइसक्यो। यति धेरै बोलेर के हुन्छ?'
कोइराला बोल्ने पालो आउँदासम्म धेरै सहभागी उठेर हिँडिसकेका थिए। कार्यक्रममा गाउँबाट आएका मानिस कार्यक्रमस्थलबाट गएको र खासकुरा सुन्न नपाएको भन्दै प्रधानमन्त्री कोइरालाले आयोजकसँग असन्तुष्टी पोखे । कतिपय सहभागी भाषणबाट विरक्तिएर कार्यक्रमस्थल वीरेन्द्र सभागृह बाहिरको चिया पसल गएर बसेका थिए। ती सहभागीलाई पछि तरुण दलकी स्थानीय नेता बिन्दीया कार्कीले डाकेर ल्याएकी थिइन्।
दुई दर्जन भन्दा धेरै वक्ताको भाषण साढे तीन घण्टासम्म सुनेपछि मञ्चमा बल्ल बोल्ने पालो कोइरालाले पाएका थिए। उनले आधा घण्टा राजनीतिक तथा समसामयिक विषयमा मन्तव्य राखेका थिए।
११ बजे प्रधानमन्त्री आएर कार्यक्रम उद्घाटन गर्ने योजना बनाइएको भएपनि कार्यक्रम दुई घण्टा ढिलो सुरु भएको थियो। प्रधानमन्त्री कोइरालाले भाषण सुन्न पर्ने मानिसले नसुनेपछि त्यसको कुनै तुक नुहने बताउँदै भने,'यो कार्यक्रममा पनि अब धेरै कुरा बुझेका सहरका मानिस मात्र बाँकी रहेका छन्। गाउँका मानिस छैनन्।'
कार्यक्रममा सहभागी प्रधानमन्त्री कोइरालाकै पार्टीका सभासद र केन्द्रीय सदस्यहरुले सरकारले चित्तबुझ्दो काम गर्न नसकेको भनी टिप्पणी गरेका थिए। कतिपय सदस्यले पार्टी भित्र भएको चरम गुटबन्दीले पनि थप समस्या भएको आरोप लगाएका थिए।
यसैबीच प्रधानमन्त्री कोइरालाले एकवर्ष भित्रै संविधान आउने कुरामा ढुक्क हुन र नेपाली राजनीति प्रति सकारात्मक सोचाई राख्न सबैलाई आग्रह गरेका छन्।
खासगरी आफूलाई अनुभवहीन प्रधानमन्त्री र कमजोर सरकारको नेतृत्व गरेको भन्दै हुने गरेको टिप्पणी प्रति लक्ष्य गर्दै कोइरालाले भने, 'माधव नेपालले समेत मलाई अनुभवहीन प्रधानमन्त्री भन्नुभएछ। म प्रश्न गर्न चाहन्छु कसले भुँडीमै रहँदा अनुभव लिएर आएको थियो र? माधव नेपालले, गिरिजाप्रसाद कोइरालाले वा विपी कोइरालाले।'
एकवर्ष आफ्नै नेतृत्वको सरकारले संविधान लिएर आउने प्रतिवद्धता दोहोर्याउँदै प्रधानमन्त्री कोइरालाले निराशा भन्दा पनि सकारात्मक परिमाण प्रति आशावादी हुन आमजनता र कार्यकर्तालाई आव्हान गरे। 'निराशा त रोग हो यसले त कमजोर बनाउँछ,' उनले भने, 'म त नेपालको नयाँ परिवर्तन प्रति धेरै नै आशावादी छु। अबको दशवर्षमा नेपालमा कायापलट हुँदै छ।'
उनले अनावश्यक रुपमा हुने गरेका टिकाटिप्पणीले जनतामा समेत गलत सन्देश गएको र पार्टीको गुटबन्दीले थप गलत धारणा विकास भएको पनि बताए। उनले भने,'पार्टी सभापति र प्रधानमन्त्रीको हैसियतमा रहेर मैले गल्ती गरेको भए मलाई कारबाही गर्नुहोस्। हटाउनुहोस् तर अनावश्यक टिकाटिप्पणी नगर्नुहोस्।'
कोइरालाले सरकार बनेको अढाई महिना मात्रै भएकोले धेरै अपेक्षा गर्नु भन्दा पनि एकवर्षको अवधि आफूलाई दिन आग्रह गरे। एकवर्ष भित्र संविधान नआए अनि त्यसपछि कुरा गर्न भन्दै उनले भने,'सरकारमा काँग्रेस मात्रै छैन। एमाले पनि छ। उसलाई पनि मनाउनु परेको छ।' संविधान निर्माण गर्न वैद्य माओवादीलाई पनि मनाउने प्रयास भइरहेको प्रधानमन्त्री कोइरालाले बताए।
चीन र भारतले समेत स्थायी शान्ति गरेर उनीहरुले गरेजस्तै आर्थिक उन्नतिको बाटोतर्फ लम्कन सुझाउ दिएको बताउँदै भने,'शान्ति भए धेरै लगानी आउँछ। खाडीबाट युवाले पठाएको पैसाको भरमा शासन चलाउनु पर्ने बाध्यता हटेर जान्छ।'
No comments:
Post a Comment