ओइलाई झर्यो एउटा लालीगुराँस
मिति : २०७१ बैशाख १, सोमबार [361 पटक पढिएको]
अन्नपूर्ण |
काठमाडौं : गीतकार क्षेत्रप्रताप अधिकारीले नयाँवर्षको विहानी देख्न पाएनन्। ७२ वर्षीय अधिकारीको सहिद गंगालाल हृदयरोग केन्द्रमा आइतबार बेलुका सवा आठ बजे निधन भयो।
शनिबार बेलुका हृदयाघात भएपछि उनलाई उपचारको लागि गंगालाल पुर्याइएको थियो। २०३४ सालमा रेकर्ड भएको 'म त लालीगुराँस भएँछु' गीतबाट उनी चर्चित भएका थिए। नारायणगोपालको स्वरमा रेकर्ड भएको गीत उनको पहिलो रेकर्डेड गीत भएको गीतकार राजेन्द्र थापा बताउँछन्।
बच्चुकैलास, नारायणगोपाल, रामकृष्ण ढकालहुँदै क्षेत्रप्रतापका शब्द सत्यस्वरूप आचार्यसम्मको पुस्तामा प्रिय हुनपुगेको थियो।
उनीद्वारा रचना गरिएको र योगेश्वर अमात्यले गाएको गीत 'क्या बोर भयो...' रामकृष्ण ढकालले गाएको गीत 'जिन्दगीमा...' नारायण गोपालको 'मलाई छोडी मेरो छाया...' बच्चु कैलाशको स्वर रहेको 'तिमीले त होइन तिम्रा आँखाहरूले...' आदि चर्चित छन्। उनका गीतहरूमा राष्ट्रियता, प्रकृति प्रेम, जनजीवनजस्ता विषयवस्तु समेटिएका हुन्छन्। २०१५/१६ साल देखि नै गीत लेखे पनि गीतकारलाई साहित्यकार नमान्ने गरेको र गीत रेकर्ड भएर बज्न थालेपछि मात्र आफूले साहित्यकारको मान्यता पाएको क्षेत्रप्रतापले उल्लेख गरेको थापाले बताए।
साझा यातायातको कन्डक्टरको रूपमा करिअर सुरु गरेका क्षेत्रप्रताप सदस्यसचिव हुँदै साझाको अध्यक्षसम्म भएका थिए। २०४३ साल वैशाखमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा उनले तनहुँबाट चुनाउ जितेर शिक्षा सहायकमन्त्रीसम्म भएका थिए। निर्वाचनमा उनको नारा 'युवालाई रोजगारी क्षेत्रप्रताप अधिकारी' रहेको तनहुँवासी सम्झिन्छन्। उनका 'रहर लागेर', 'पहाडदेखि पहाडसम्म', 'देश त हारिरहेछ', 'अकविता', 'युद्ध र छाया', जस्ता कृति प्रकाशित छन्।
१९९९ सालमा तनहुँका मिर्लुङमा जन्मिएका क्षेत्रप्रतापले २०५३ सालको छिन्नलता गीत पुरस्कार पाएका थिए। उनको कृति 'नफूलेका फूल' लाई साझा पुरस्कार प्रदान गरिएको थियो। केही समय जापान बसेका उनले जापानी साहित्यसम्बन्धी पुस्तक अनुवाद तथा सम्पादनसमेत गरेका छन्।
सन् २०१४ जनवरी १४ को मितिमा साताको साहित्य नामक अनलाइन पोर्टलमा क्षेत्रप्रतापको एउटा गीत प्रकाशित थियो। जसको पहिलो हरफ यस्तो थियो,
मलाई सञ्चो छैन तर देशलाई सञ्चो भइरहोस्
म त आउँछु जान्छु तर यो देश सधैं रहिरहोस्।
No comments:
Post a Comment